२०८३ श्रावण २२, शुक्रबार १६:३५

रौतहटको यमुनामाई गाउँपालिका–५ मा खेल्न निस्किएका ६ वर्षीय बालकको शव शुक्रबार बिहान नहरमा फेला परेको छ। बिहीबार अपराह्नदेखि सम्पर्कविहीन भएका खुसी आलम मृत अवस्थामा भेटिएपछि गाउँमा शोक छाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार स्थानीय सरमुला मियाका छोरा खुसी आलम बिहीबार अपराह्न करिब ३ः३० बजे ४–५ जना साथीहरूसँग घरबाट करिब एक किलोमिटर पश्चिम रहेको सडकछेउको कल्भर्ट क्षेत्रमा खेल्न गएका थिए। उनीसँग गएका अन्य बालबालिका घर फर्किए पनि खुसी नआएपछि परिवारले आफन्त र स्थानीयको सहयोगमा रातभर खोजी गरे पनि कुनै जानकारी प्राप्त हुन सकेको थिएन।

शुक्रबार बिहान बालकका बुबाले अस्थायी प्रहरी पोस्ट बमनहरमा मौखिक सूचना दिएपछि असई सञ्जीप सिंहको नेतृत्वमा प्रहरी टोली खोजीमा खटिएको थियो।

खोजतलासकै क्रममा बिहान ९ः५५ बजे यमुनामाई–५ स्थित सातबम्बा सडकको कल्भर्टबाट करिब २० फिट दक्षिणतर्फ बगेको नहरमा बालक घोप्टो परेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ।

सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर जीवनकुमार मैनालीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।

बालकको मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Comment


Related News

Latest News

Trending News