धनुषाको मिथिला नगरपालिका–७ स्थित ढल्केवरमा निर्माण प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयास भएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । ट्रमा सेन्टर पूर्वनिर्धारित स्थानमै निर्माण गर्नुपर्ने माग गर्दै गठित संघर्ष समितिले शुक्रबार ढल्केवरमा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराउन साउन २३ गते साँझ ढल्केबरमा राँके जुलुस निकाल्ने जनाएको । त्यसको भोलिपल्ट साउन २४ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत ढल्केबर क्षेत्रमा आधा घण्टा चक्काजाम गरिनेछ । माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउँदै साउन २५ गतेदेखि चक्काजामको अवधि क्रमशः बढाइने संघर्ष समितिको चेतावनी छ ।
समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार साउन २६ गते बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म तथा साउन २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिनेछ । यसबाट राजमार्गमा यातायात सेवा प्रभावित हुन सक्ने अनुमान गरिएको छ । यसअघि संघर्ष समितिले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै ढल्केबरमै ट्रमा सेन्टर निर्माणको निर्णय कार्यान्वयन गर्न माग गरेको थियो ।
आन्दोलनको पृष्ठभूमिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार प्रतिनिधिसभाको बैठकमा ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएको विषय रहेको स्थानीयको भनाइ छ । मन्त्रीको उक्त अभिव्यक्तिपछि ढल्केबर क्षेत्रमा असन्तुष्टि बढेको छ । स्थानीयवासीले संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत मिथिला नगरपालिका–७ स्थित साविक ढल्केवर गाविस–२ ‘क’ अन्तर्गत कित्ता नम्बर १६९ मा रहेको चार बिघा ऐलानी जग्गामा ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक बजेट विनियोजन गरेको स्मरण गराएका छन् ।
उनीहरूको भनाइमा सरकारले यसअघि गरेको निर्णय र बजेट व्यवस्थाविपरीत निर्माणस्थल परिवर्तन गर्न खोजिएको छ । मिथिला नगरपालिकाका प्रमुख महतोका अनुसार ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । सम्बन्धित जग्गाको लालपुर्जा समेत तयार भइसकेकाले अब सरकारले पूर्वनिर्णयअनुसार निर्माण कार्य अघि बढाउनुपर्ने उनको जोड छ ।
यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत ढल्केवरमै ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पार्दै कुनै भ्रममा नपर्न आग्रह गरेकी थिइन् । तर मिथिला नगरपालिकाका नगर प्रमुख महतोले प्रतिनिधिसभामा मन्त्रीले दिएको अभिव्यक्ति र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको स्पष्टीकरणबीच स्पष्ट भिन्नता रहेको टिप्पणी गरे ।

