जनकपुरधामस्थित जानकी आँखा अस्पताललाई सञ्चालक नेपाल रेडक्रस सोसाइटी धनुषाका पदाधिकारीद्वारा नै बदनाम गर्न खोजिएको आरोप लगाइएको छ । नेपाल रेडक्रस सोसाइटी जानकी आँखा अस्पताल प्रशासनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी रेडक्रस सोसाइटी धनुषाका नवनियुक्त सभापति पंकज महतोले सामाजिक सञ्जालको दुरुपयोग गरी अस्पताल तथा रेडक्रसको प्रतिष्ठामा आँच पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पताल परिसरमा गोदाममा थन्क्याएर राखिएका पुराना धुल्याउने तथा लिलामयोग्य गाडीहरु र अस्पतालको कुना–कुचामा रहेका फोहोरको तस्बिर खिचेर सामाजिक सञ्जाल सभापति महतोको फेसबूक पेजबाट राखेर अस्पतालाई बदनाम राखिएको भन्दै आपत्ति जनाइएको छ । जारी गरिएको विज्ञप्तिमा अस्पतालको प्रोटोकल विपरीत शल्यक्रिया कक्षभित्र प्रवेश गरी बिना आधिकारिक समन्वय निहीत स्वार्थमा लागेका केही कर्मचारी पछ्याई अस्पताल निरीक्षणका नाममा संस्था तथा अस्पताललाई बदनाम गर्ने उद्देश्यले सभापति पंकज महतोको फेसबूक पेजबाट कुनै व्यक्तिलाई दोषी देखाउने तथा आलोचनात्मक प्रतिशोधात्मक प्रवृत्ति ध्यानाकर्षण भएको भनिएको छ ।
यस्तो गतिविधिले रेडक्रस संस्थाकै बदनाम हुने र रेडक्रसको सिद्धान्त, मान्यता तथा आचारसंहिताविपरीत हुने विज्ञप्तिमा उल्लेख छ । साथै यस्ता गतिविधिका कारण बिरामीको विश्वास टुट्ने र रेडक्रसको समेत अपमान हुने भन्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयसमेतको ध्यानाकर्षण गराउने तथा संस्थाको मानमर्यादा कायम राख्न आवश्यक कारबाहीका लागि पहल गर्ने चेतावनी दिइएको छ ।
यता विज्ञप्ति मार्फत लगाइएको आरोप बारे सभापति महतोले वर्षौदेखि खाइपाई आएको भ्रष्टाचारमा लिप्त केही कर्मचारीले म विरुद्ध यस्ता विज्ञप्ति निकालेका छन् । आफूले लथालिङ अवस्थामा रहेका जानकी आँखा अस्पतालसमा सुशासन कायम गर्न लाग्दा यस्तो प्रतिक्रिया आएको हो । फेसबुक पेजमा राखिएको फोटो बारे उनले भने आफूले अस्पताल वा रेडक्रसलाई बदनाम गर्न होइन यस्तो लथालिङ अवस्था रहेको बारे आम जनतालाई अवगत गराउन चाहेको हो ।
जहाँसम्म अपरेशन थिएटरमा प्रवेशको कुरा हो आफू सहित रेडक्रसका पदाधिकारी टिम बाहिरबाटै अवस्था हेरेर फर्केको छ । सभापति जस्ता व्यक्ति आफ्नै संस्थाको बेथिति बारे सामाजिक सञ्जालमा यसरी फोटो हालेर र नाकारात्मक कुरा राख्दा सो रेडक्रसप्रति आम नागरिक तथा सरोकारवाला व्यक्तिमा नाकारात्मक धारणा उत्पन्न भइरहेको सामाजिक सञ्जालमा गरिएको कमेन्टहरुले देखिन्छ । रास्वपा सरकारमा रहेका मन्त्रीहरु जस्तै महतो पनि स्टन्टबाजी गर्न खोजेको आरोप जनकपुरधामका स्थानीयहरुले लगाउन थालेका छन् ।
जनकपुरधाम– ४ का विनोद साह भन्छन् — आफू आबद्ध रहेको संस्थाको बेथिती सुधार गर्ने हो न कि त्यसको नाकारात्मक कुराहरु सामाजिक सञ्जालमा राखेर नाँगेझार गर्नुले बेथिती ल्याउने व्यक्ति होइन सो संस्थाप्रति नाकारात्मक धारणा आम नागरिकमा बस्ने गरेको छ । रास्वपाका केन्द्रिय मन्त्रीहरु जस्तै सभापति पंकज महतोले पनि स्टन्टबाजी गर्न खोजेका छन् ।
सभापति महतोमाथि रेडक्रसको गाडी गृहमन्त्री सुदन गुरुङ पछिल्लो पटक जनकपुरधाम प्रदर्शनकारी संयुक्त हिन्दु मोर्चासंग वार्ता गर्न आएको बेला अवैधानिक रुपमा प्रयोग गरिएको आरोप समेत लगाइएको छ । गृहमन्त्री गुरुङ जहाँ जहाँ गए त्यो भीडमा कार्यकर्ता झै रेडक्रसको गाडी पनि दोडाइयो ।
ती गाडीमा सभापति सँगै रास्वपा कार्यकर्ताहरुलाई समेत बसाइएको थियो । आफ्नो पदीय मर्यादा बिर्सेर संयुक्त हिन्दुवादी मोर्चाको सट्टा रास्वपा कार्यकर्तासंग वार्ता गरिएको भन्ने लागिरहेका गृहमन्त्रीसंगको बैठकमा समेत सभापति महतोले आफ्नो उपस्थिति जनाएको थियो । रास्वपा कार्यकर्ताको दायित्व पुरा गर्दै गृहमन्त्री धनुषा तथा महोत्तरीमा गरेको भ्रमणदेखि होटलमा बसेको बाससम्म रेडक्रसको गाडी लिएर दौडाहा गरेको प्रत्यक्षदर्शीको दाबी छ ।
सभापति महतोको नियुक्ति नै विवादित रहेको छ । उनीमाथि रास्वपा कार्यकर्ता रहेको आरोप लाग्दै आएको छ । रेडक्रसको विधानमा कुनै पनि राजनीति दल वा सो संग सम्बन्धित संघ संगठनमा लागेका व्यक्ति रेडक्रसको सदस्य वा पदाधिकारी हुन नपाउने व्यवस्था छ । तर रास्वपाका सक्रिय सदस्य रहेका महतोसहित अन्य पदाधिकारीमा विधानको धज्जी उडाउँदै नियुक्ति गरिएको आरोप विभिन्न पक्षको रहेको छ ।
उनको नियुक्तिप्रति रेडक्रस सोसाइटी धनुषाका पूर्वसभापति नरेश प्रसाद सिंहले उनको नियुक्ति अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छन् । उनको सो रिट विरुद्ध सर्वोच्च अदालतले साउन १९ गते कारण देखाउ आदेश जारी गरिसकेको छ । कारण देखाउ आदेशसंगै अदालतले आन्तरिक छलफलका लागि सम्बन्धित दुबै पक्षलाई बोलाइएको छ ।

