मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना दुग्धजन्य उत्पादन बिक्रीवितरण गर्ने स्टल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
डीडीसीको दुग्ध विकास आयोजना ढल्केबर शाखाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग आवश्यक छलफल गरिसकेको र अबको एक सातादेखि १० दिनभित्र स्टल सञ्चालनमा ल्याउने तयारी गरेको हो । आयोजना ढल्केबरका प्रमुख दिनेश जोशीका अनुसार मुख्यमन्त्री कार्यालय परिसरमा विभिन्न मन्त्रालय तथा सरकारी निकाय रहेकाले दैनिक ठूलो संख्यामा कर्मचारी, सेवाग्राही तथा सर्वसाधारणको आवतजावत हुने गर्छ । त्यसलाई मध्यनजर गर्दै स्वदेशी दुग्धजन्य उत्पादनको प्रवद्र्धन तथा सहज बिक्रीवितरणका लागि स्टल राख्न लागिएको हो । ‘यहाँ कर्मचारी र सेवाग्राहीसहित दैनिक एक हजारभन्दा बढी मानिसको आवतजावत हुन्छ । स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै गुणस्तरीय र स्वस्थ्यकर दुग्धजन्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्टल राख्न लागेका हौँ,’ जोशीले भने, ‘मुख्यमन्त्री कार्यालयसँग छलफल भइसकेको छ । अबको एक हप्ता वा बढीमा १० दिनभित्र स्टल सञ्चालनमा ल्याउँछौँ ।’
डीडीसीले हाल दही, रसभरी, बटर, पनिर, घ्यु, मोही तथा विभिन्न स्वादका आइसक्रिमलगायतका दुग्धजन्य सामग्री उत्पादन गर्दै आएको छ । मुख्यमन्त्री कार्यालय परिसरमा सञ्चालन हुने स्टलबाट संस्थानका यिनै उत्पादन बिक्रीवितरण गरिने जनाइएको छ । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने सन्देशसहित डीडीसीको ‘ चिज’ सेवन गरिरहेको तस्बिर सार्वजनिक भएपछि संस्थानका उत्पादनप्रति उपभोक्ताको चासो बढेको थियो । त्यसयता डीडीसीका विभिन्न उत्पादनको बिक्रीसमेत उल्लेख्य रूपमा बढेको आयोजनाको दाबी छ ।
जनकपुर चुरोट कारखाना परिसरमा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ, स्वास्थ्य, शिक्षा तथा संस्कृति, भौतिक पूर्वाधार विकास तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयका कार्यालय सञ्चालनमा छन् । सरकारी कार्यालयको ठूलो उपस्थिति रहेको उक्त क्षेत्रमा डीडीसीको बिक्री स्टल सञ्चालनले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
मधेश प्रदेश दूध विकास बोर्डका उपाध्यक्ष डा. शम्भु साहले सरकारी स्वामित्वको डीडीसीले उत्पादन गरेका दुग्धजन्य सामग्री गुणस्तरीय र स्वस्थ्यकर भएकाले कार्यालय परिसरमा स्टल सञ्चालन गर्नु उपयुक्त हुने बताए । यसैबीच, डीडीसीको ढल्केबर शाखाले सहकारी तथा व्यावसायिक फार्मबाट दैनिक औसत २ हजार २ सयदेखि २ हजार ५ सय लिटरसम्म दूध संकलन गर्दै आएको छ । संकलित दूधलाई प्रशोधन गरी विभिन्न दुग्धजन्य उत्पादन तयार पारेर बजारमा बिक्रीवितरण गरिँदै आएको शाखाले जनाएको छ ।

