२०८३ श्रावण २३, शनिबार ०७:१६

महोत्तरीका विभिन्न स्थानीय तहमा भूमि सम्बन्धी समस्या समाधानको कामलाई थप गति दिने कार्य अघि बढाइएको छ । भूमि समस्या समाधान समितिको कामलाई प्रभावकारी र द्रुत गतिमा अघि बढाउने उद्देश्यले शुक्रबार एकडारा गाउँपालिका, औरही नगरपालिका र बलवा नगरपालिकामा समन्वय बैठक सम्पन्न गरिएको हो ।

बैठकमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि भइरहेका काम, अभिलेख व्यवस्थापन, आवश्यक कागजात संकलन तथा आगामी प्रक्रियालाई तीव्रता दिने विषयमा छलफल गरिएको थियो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भूमिसम्बन्धी समस्या लामो समयदेखि नागरिकसँग जोडिएको संवेदनशील विषय भएकाले यसको समाधानमा सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उनले स्थानीय तह, भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सम्बन्धित कार्यालयबीच समन्वय र सहकार्य बलियो बनाएर प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । ‘भूमिसम्बन्धी समस्या समाधानको काम कागजी प्रक्रियामै सीमित नराखी वास्तविक लाभग्राहीले समयमै परिणाम पाउने गरी कामलाई तीव्रता दिनुपर्छ’ उनले भने ।

बैठकमा स्थानीय तहमा भूमि समस्या समाधानका क्रममा देखिएका व्यावहारिक कठिनाइ, आवश्यक तथ्यांक तथा कागजातको व्यवस्थापन र सम्बन्धित निकायबीचको समन्वयका विषयमा समेत छलफल गरिएको जनाइएको छ । भूमि समस्या समाधान समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर समन्वय तथा अनुगमनलाई निरन्तरता दिइरहेको छ ।

शुक्रबारको बैठकले सम्बन्धित पालिकामा भूमिसम्बन्धी समस्या समाधानको प्रक्रिया थप व्यवस्थित र गतिशील बनाउने अपेक्षा गरिएको छ ।

Comment


Related News

Latest News

Trending News