आदिकवि महर्षि वाल्मीकि, मिथिला नरेश शीरध्वज जनक र अयोध्या नरेश दशरथ समकालीन थिए । समकालीन भएकै कारण उनले आफ्ना अमरकृति वाल्मीकि रामायणमा मिथिला गणराज्यका संस्थापक निमीदेखि २३ औं पुस्ताका नेरेश अर्थात् सीरध्वज जनकसम्मका नाम मात्र उल्लेख गर्न भ्याउनु भयो । त्यसपछिका मिथिला नरेशहरुका नाम विष्णु पुराणलगायतका ग्रन्थहरुमा पाइन्छ ।
विभिन्न ग्रन्थहरुमा आएको वर्णन अनुसार, निमिवंशीका ५६ पुस्ता मिथिलामा राज्य गरेका थिए । अन्तिम राजा थिए– कराल जनक । एक युवतीसंग दुव्र्यवहार गरेका कारण मिथिलावासी उनलाई सत्ताच्यूत गरेको संकेत कौटिल्यको अर्थशास्त्रमा पाइन्छ । नागरिकमा राजापर्यन्तलाई सत्ताच्यूत गर्ने अधिकार हुनु भनेको सच्चा जनतन्त्र हो । यस अर्थमा मिथिला दुनियाकै पहिलो जनतन्त्र थियो, भन्दा अच्युक्ति न होला । वाल्मीकि रामको चरित्रलाई आधार बनाइ संस्कृत भाषा वाल्मीकी रामायण लेख्नु भएको थियो । जसलाई पहिलो रामायण मानिन्छ ।
वाल्मीकिद्वारा विरचित यस आख्यान पछि, अध्यात्म रामायण, अद्भूत रामायण, तमिल भाषामा कंबन रामायण, अवधीमा तुलसीदास विरचित रामचरित मानस, बांग्लामा कृत्तिवास ओझा लिखित कृतिवास रामायण, मराठीमा सन्त एकनाथ विरचित भावार्थ रामायण, मैथिलीमा कविश्वर चन्दा झा लिखित मिथिला भाषा रामायण तथा महाकवि लालदास लिखित रमेश्वर चरित मिथिला रामायणसंगै, जनकपुरधामका रसिक सम्प्रदायका सुप्रसिद्ध महाकवि रसिक अलिद्वारालिखित अमर रामायण आदि ग्रन्थहरु राम चरित्रलाई प्राथमिकतामा राखी, लेखिएका धार्मिक ग्रन्थहरु हुन् । जसको प्रचार प्रसार र चर्चा अधिक छ ।
यसका अतिरिक्त मलयालम, तेलगु, थाईलैण्ड, इंडोनेशिया, आदि भूगोलमा त्यहाँका भाषा तथा अ–आफ्नै शैली, परिवेश तथा कला संस्कृतिसंग मिल्ने रामायणका अनेकौं संस्करण प्रकाशित छन् । एक अनुमान अनुसार, संस्कृतमा महर्षि वाल्मीकिद्वारा रचित वाल्मीकि रामायणको ३ सय भन्दा बढि संस्करण तथा अनुवाद नेपाल, भारतलगायतका देशहरुबाट प्रकाशित छन् । तर, हामीले जनकपुरधाममा, जनकपुरधामका कवि महाकविहरुले विभिन्न कालखण्डमा जनकपुर, मिथिला संस्कृति तथा रितिरिवाजसंगै सीताको चरित्रलाई प्रधानता दिइ लेखिएका सीतायण (सीताको चरित्र प्रधान महाकाव्यहरु) को विषयमा हामी अनभिज्ञ जस्तै छौँ ।
यस्ता महाकविहरुमा रामप्रिया सरणद्वारालिखित सीतायण, जानकी मन्दिरका पुजारी राम सिनेही दासद्वारा लिखित जानकी चरितामृत तथा सन् १९७१ मा महाकवि रमाकान्त झाद्वारा लिखित व्यथा महाकाव्य अनमोल कृतिहरु छन् । वास्तविकता के पनि हो भने जनकपुरको माटोमा जनकपुरधामका महाकविहरुले लेखेका ती महाकाव्यहरु भाषा, शैली तथा भावको दृष्टिले बेजोड छन् । मिथिलाको रिति रिवाज, वैवाहिक पद्यति, खानपान, पर्व त्यौहारसंगै सीता चरित्र बुझ्न यी ग्रन्थहरु पढ्नै पर्ने हुन्छ ।
मिथिलाञ्चलमा एउटा गजबको भाष्य छ । त्यो के भने यहाँ सीता जन्म, सीता बाललीला, रामजानकीको प्रथम मिलन, धनुषयज्ञ, रामजानकी विवाह तथा कोबरसम्मको कथामात्र वर्णन गरिन्छ । कारण मिथिलावासी सीतालाई आफ्नो दिदी, बहिनी, फुवा जस्तै माया, स्नेह र सत्कार गर्छन् । अतः विवाह पछि अयोध्या गएकी सीता वनवास गएकी, गर्भवती अवस्थामा पुनः वनवासजानु परेकी जस्ता दुखान्त कथा मिथिलावासी सुन्न र सुनाउँन चाहदैनन् । यहाँ रामसीतासंग सम्बन्धित सुखान्त कथाहरुमात्र भन्ने र सुन्ने परम्परा छ ।
राम सनेही दास (करिब सन् १९५०) जानकी मन्दिरका पुजारी थिए । उनले संस्कृत भाषामा ‘जानकी चरितामृत’ लेखेका थिए । जसको हिन्दी टिका हालै प्रा.डा.हरिवंश झाले प्रकाशित गर्नु भएको छ । यस ग्रन्थमा जनकपुर वर्णन, सीता जन्म, बालक्रिडा, राम–जानकी मिलन, धनुषयज्ञ, राम–सीता विवाह आदि प्रसंगहरुलाई नयाँ भाष्य दिइएको छ । अहिलेसम्म हामीले पढ्दै र सुन्दै आएका थियौँ– मिथिलामा १२ वर्षको अनिकाल पर्दा राजा जनक जनहितका लागि हलेष्ठी यज्ञ गरेका थिए ।
हलो जोत्नेक्रममा सीता प्रकट भएकी थिइन् । तर जानकी चरितामृतले राजा जनक पुत्रीको रुपमा सीतालाई प्राप्त गर्न ‘पुत्रिष्ठी यज्ञ’ गरेको उल्लेख छ । अयोध्या नरेश दशरथ राम, लक्ष्मणसहितका छोराहरुको ५ औं जन्मोत्सव -आनन्दोत्सव) मा जनकलाई पनि निम्तो पठाइएको थियो । जनक रामको रुप, रंग तथा चमत्कारिक व्यक्तित्व देखेर मोहित भएका थिए ।
जनकमा, रामलाई ज्वाईको रुपमा प्राप्त गर्ने इक्षा जागृत भयो अनि उनि पुत्री प्राप्तिका लागि पुत्रेष्ठि यज्ञ गरेका थिए । जानकी चरितामृतमा वर्णन भए अनुसार, सीताको जन्म हलोको सीतबाट नभइ यज्ञको हवनबाट भएको थियो । जानकी चरितामृतमा सीताको १०८ नाम तथा सीताको अन्य १२ नामको सूचि पनि उल्लेख गरिएको छ । पुस्तकको भाषा संस्कृत भए पनि सारगर्भित, सुवोध र लालित्यपूर्ण छ । सरस्वतीले सीताको बाल स्वरुपको वर्णन गर्ने क्रममा महाकवि राम सिनेही दासले गर्नु भएको वर्णन गजबको छ ।
‘जनको मधुरो जननी मधुरा मधुरा अनुजा
अनुगा मधुराः ।
सुकुलं मधुरं नगरं मधुरं
मिथिलेशसुतासकलं मधुरम् ।।’
अर्थात् सीताका पिता जनक श्रेष्ठ छन् । आमा सौभाग्यमा सबै आमाहरुमा श्रेष्ठ छन् । सीताकी बहिनीहरु श्रेष्ठ छन् । सीता जन्मभूमि जनकपुरश्रेष्ठ छन् । समग्रमा सीता जुन स्थानमा, जुन परिवारमा, जुन कुलमा जन्म लिएकी छन्, ती सबै श्रेष्ठ छन् ।

