२०८३ श्रावण २५, सोमबार ०७:२१

जनकपुरधाम उपमहानगरपालिकास्थित कदम चोकमा सिया मेडिकेयरको आइतबार विधिवत् उद्घाटन गरिएको छ । स्थानीयस्तरमै सहज, भरपर्दो तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सिया मेडिकेयर सञ्चालनमा ल्याइएको हो ।

मेडिकेयरका निर्देशक राजकुमार झाले जनकपुरधाम तथा आसपासका नागरिकलाई स्थानीयस्तरमै आवश्यक स्वास्थ्य उपचार तथा स्वास्थ्यसम्बन्धी विभिन्न सेवा उपलब्ध गराउने उद्देश्यले सिया मेडिकेयर स्थापना गरिएको जानकारी दिए । उनले जनकपुरधामका अस्पतालहरूमा उपचारका लागि पुगेका बिरामीलाई आवश्यक उपचार उपलब्ध गराउनुभन्दा अन्यत्र रिफर गर्ने गरेको आमगुनासोलाई ध्यानमा राख्दै सिया मेडिकेयरले सकेसम्म स्थानीयस्तरमै प्रभावकारी उपचार सेवा प्रदान गर्ने बताए ।

जनकपुरधामका अस्पतालमाथि लाग्दै आएको ‘रिफर सेन्टर’को ट्याग हटाउन सिया मेडिकेयरले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । उद्घाटन कार्यक्रममा निर्देशक झाले स्थानीय बासिन्दालाई सहज र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउनु संस्थाको प्रमुख उद्देश्य रहेको बताए । स्वास्थ्य उपचारका लागि बाहिरी जिल्लातर्फ जानुपर्ने बाध्यता कम गर्दै जनकपुरधाममै गुणस्तरीय सेवा उपलब्ध गराउनेतर्फ मेडिकेयर केन्द्रित रहेको उनले बताए ।

सिया मेडिकेयरले यसअघि नै ओपीडी सेवा, पैथोलोजी ल्याब, अल्ट्रासाउन्डलगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ । हाल आठ शय्याबाट सेवा सञ्चालनमा ल्याइएको निर्देशक झाले जानकारी दिए । उनका अनुसार मेडिकेयरमा आगामी दिनमा स्वास्थ्य सेवाको दायरा थप विस्तार गरिनेछ । इमर्जेन्सी वार्ड, नर्मल डेलिभरी, अपरेसन तथा सर्जरी, ट्रमा सेवा, आईसीयू, एनआईसीयू, जिङ्गल वार्डलगायतका सेवा उपलब्ध गराउने योजना रहेको उनले बताए ।

त्यसैगरी बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै निकट भविष्यमै डायलासिसलगायतका थप विशेषज्ञ स्वास्थ्य सेवासमेत सञ्चालन गर्ने तयारी भइरहेको निर्देशक झाले जानकारी दिए । स्वास्थ्य उपचारका लागि जनकपुरधाम तथा आसपासका नागरिकले सहज र प्रभावकारी सेवा पाऊन् भन्ने उद्देश्यले आवश्यक पूर्वाधार तथा स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको सिया मेडिकेयरले जनाएको छ ।

मेडिकेयरले आगामी दिनमा सेवा विस्तारसँगै दक्ष जनशक्ति, आधुनिक स्वास्थ्य उपकरण तथा आवश्यक पूर्वाधार थप गर्दै जनकपुरधाममा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने लक्ष्य लिएको जनाएको छ । स्थानीय नागरिकलाई उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थालाई कम गर्दै भरपर्दो स्वास्थ्य उपचारको केन्द्रका रूपमा सिया मेडिकेयरलाई विकास गर्ने लक्ष्य रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News