रौतहटको सदरमुकाम गौरमा खाजा घरको आवरणमा लागूऔषध गाँजाको कारोबार भइरहेको खुलेको छ। प्रहरीले गाँजा बिक्री वितरण गरेको आरोपमा खाजा घर सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साह रहेका छन्। उनले गौर नगरपालिका–३ मा ‘काजल स्टील रेलिङ्ग’ नामबाट खाजा घर सञ्चालन गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार खाजा घरबाट सानो–सानो पुरीया बनाएर गाँजा बिक्री हुने गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले त्यहाँ खानतलासी गरेको थियो।
खानतलासीका क्रममा खाजा घरको काउन्टरको च्याकभित्र कालो प्लास्टिकको झोलामा लुकाएर राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिक्रीका लागि तयार पारिएका १२५ वटा पुरीयामा रहेको कुल ७ सय ग्राम गाँजा बरामद गरिएको छ।
गाँजासहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिएका छन्।
प्रहरीले खाजा घरको आवरणमा समेत लागूऔषधको कारोबार हुन सक्ने भएकाले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।

