प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै बिपक्षी दलका सांसदहरुले निरन्तर सदनमा विरोध जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने र स्वयं प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका हुन् । बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिनुभयो ।
सांसद काउचाले आफुहरुले उठाएका बिषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएको र सदनलाई विश्वस्त पार्ने प्रयास नभएको भन्दै आपत्ति जनाउनुभयो । प्रतिपक्षले प्रश्न सोध्नु र सरकारलाई सचेत गराउनु घेराबन्दी वा अपमान नभएको धारणा उहाले राख्नुभयो ।
मुलुकको हितमा चालिने सही कदममा प्रतिपक्ष साथमा रहने भन्दै उहाले विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने धारणा राख्नुभयो । उहाले प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसंग माग गर्नुभयो ।
त्यस्तै त्यस्तै एमाले सांसद नीता घतानीले सत्ता पक्षका सांसदहरूलाई कुनै गलत अभिव्यक्तिको बचाउ गर्नुभन्दा नेपालको भूगोल र सार्वभौमसत्ताको पक्षमा उभिन आग्रह गर्नुभयो । सत्ता, सरकार र पद अस्थायी भए पनि नेपाल सधैँ स्थायी रहने उहाले बताउनुभयो । सांसद घतानीले प्रतिपक्ष सदन अवरुद्ध गर्ने पक्षमा नरहेको र जनताका समस्या उठाउँदै जिम्मेवार रूपमा सदन चलाउन चाहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै अन्य बिपक्षी दलका सांसदहरुले पनि नेपालले भारतको सीमा मिचेको थियो भन्ने प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइ सच्याउनुपर्ने माग गरो थिए ।

