जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्था तथा सीमा व्यवस्थापनबारे अनुगमन गरेका छन् । जिल्लाका विभिन्न सीमा नाका तथा सीमावर्ती क्षेत्रमा पुगेर सुरक्षा अवस्था, आवतजावत, सीमा स्तम्भको अवस्था र स्थानीयस्तरमा देखिएका समस्याबारे जानकारी लिएको जनाइएको छ ।
अनुगमनका क्रममा सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीको अवस्था, नियमित गस्ती, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा नेपाल– भारत सीमाबाट हुने आवतजावतलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिएका छन् । उनका अनुसार सीमा क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा निकायबीच थप प्रभावकारी समन्वय आवश्यक रहेको छ । उनले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, चोरी तस्करी तथा गैरकानुनी आवतजावत नियन्त्रण गर्न सुरक्षा निगरानीलाई निरन्तरता दिइने बताउँदै सीमावर्ती नागरिकलाई समेत सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार सीमा सुरक्षा सुरक्षाकर्मीको जिम्मेवारी मात्र नभई सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको सहयोग र समन्वयबाट अझ प्रभावकारी बनाउन सकिन्छ । उनले सीमा क्षेत्रमा देखिएका समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधानको पहल गरिने पनि बताए ।
जिल्ला सुरक्षा समितिको अनुगमनले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिनुका साथै सीमा सुरक्षा र व्यवस्थापनलाई थप व्यवस्थित बनाइनेछ भने आगामी दिनमा पनि सीमा क्षेत्रमा नियमित अनुगमन तथा सुरक्षा निगरानीलाई निरन्तरता दिने प्रशासनले जनाएको छ ।

