२०८३ श्रावण २६, मंगलवार ०७:३५

मिटरब्जायी (अनुचित लेनदेन) तथा ठगी आरोपमा पक्राउ परेका एकै परिवार गोपाल साह, हरेराम साह र रेखा साहविरुद्धको मुद्दालाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा छानबीन गर्न पिडीतहरुले माग गरेका छन ।

पिडीत ऋणीहरुले सोमवार एक पत्रकार सम्मेलन आयोजना गरी घटनाको निष्पक्ष छानबीनका लागि सीआईबी मार्फत छानबीन गर्नुपर्ने माग गरेका छ्न । उनीहरुले भने पैसाको बलमा मिटरब्याजी साह परिवार पटक पटक पक्राउ परेपनि छुट्दै आएकाले फेरी अदालतबाट सफाई हुनेमा आफूहरु संशकित भएकाले यसको छानबीन सीआईबीमार्फत हुनुपर्छ ।

दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरेका थियो । प्रहरी उपरीक्षक खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौँबाट पक्राउ गरिएको थियो ।

हाल तिनीहरुविरुद्ध अनुसन्धान गरी जिल्ला अदालतमा अभियोग पत्र दर्ता भईसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् । जिल्ला अदालतले मंगलवारदखि बयान लिने कार्य शुरु हुने जनाइएको छ । विदेह नगरपालिकाका गोविन्द कुमार साहले दिएको उजुरीको आधारमा उनलाई साउन २ गते पक्राउ गरिएको थियो ।

घटनाको लामो अनुसन्धानपछि तिनीहरुविरुद्ध जिल्ला अदालतमा सरकारी वकिल मार्फत मुद्दा दर्ता भई प्रक्रिया अघि बढेको हो । हाल जनकपुरधाम उपमहानगरपालिका–२ निवासी साहले गोपाल साहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर ९९ लाख ऋण लिएका थिए । गोविन्द साहले दृष्टिबन्धकमा रजिष्ट्रेशन गरिदिएको जग्गापछि जग्गाधनीलाई थाहै नदिइ गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखी चार करोड ऋण लिएको अभियोगमा तिनीहरुलाई पक्राउ गरिएको थियो ।

जनकपुरधामस्थित गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरु बरामद गरिएको थियो । मिटरब्याजी साह परिवारले विभिन्न सहकारी फार्म खोलेर त्यसका नाममा अनुदान रकमको दुरुपयोग, ऋण दिएर ऋणीको जग्गा रजिष्ट्रेशन पास गरी सो जग्गा विक्री गर्ने वा बैंकबाट बढी ऋण उठाउने कार्यमा संलग्न रहेको आरोप लाग्दै आएको छ ।

मिटरब्याजी साह परिवारविरुद्ध थप ८ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । ती उजुरीहरुको पनि छानबीन भई अभियोग पत्र जिल्ला अदालतमा दर्ता भई प्रक्रिया अघि बढिसकेको जनाइएको छ । मिटरब्याजी साह परिवारविरुद्ध थप उजुरी दिनेहरुमा विदेह नगरपालिका १ का बहुरी राउत, मिथिला नगरपालिका ८ का शिवसती कुमारी महतो, शहीदनगर नगरपालिका ३ का मोहम्मद काशिम, कमला नगरपालिका ४ का सुलिना खातुन, क्षिरेश्वरनाथ नगरपालिका ४ का युसुफ राईन, क्षिरेश्वरनाथ नगरपालिका ६ का राजीवकुमार सिंह, मिथिला नगरपालिका ६ का कृष्णलाल दास, जनकपुरधाम उपमहानगरपालिका ४ का निलम ठाकुर रहेकी छ्नि ।

पत्रकार सम्मेलनमा निलम ठाकुरले आफ्नो श्रीमानले जग्गा पास गरी एक करोड ९ लाख रुपैया गोपाल साहसँग ऋण लिएकोमा जनकपुरधाम मुरली चोकका ५ कट्ठा जग्गा बिक्री गरिदिएको थाहा पाएको बताईन । उनले भनिन आफूले पटक पटक रकम लिएर जग्गा फिर्ता गरिदिन आग्रह गर्दै आएकोमा आलटाल गर्दै आएको छ ।

यस्तै मिथिला नगरपालिका ६ का कृष्णलाल दासले भने आफूले छोरी विवाहका लागि विभिन्न मितिमा गरी साढे १५ लाख रुपैया ऋण लिएकोमा पटक पटक गरी १० लाखभन्दा बढी रकम चुक्ता गरिदिएको र बांकी रकम लिएर जग्गा फिर्ता गरिदिन आग्रह गर्दा पनि आलटाल गर्दै आएको छ । केही दिनअघि थाहा पाए आफ्नो जग्गा त तिनीहरुले बिक्री गरिसकेका छन् ।

पत्रकार सम्मेलनमा उपस्थिति सबै पिडित ऋणीले मिटरब्याजी साह परिवार विरुद्ध यस्तै यस्तै आरोप लगाए । उनीहरुले सयौं व्यक्तिहरुको जग्गा ऋण दिएकोमा जग्गा रजिष्ट्रेशन पास गरी तिनीहरुको जग्गा बिक्री र बैंकमा थप ऋण लिएर अन्या कारोबारमा लगाउंदै आएको आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News