सवारी ज्यान मुद्दामा रौतहटको मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरीसहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वडाध्यक्ष कोइरी र मौलापुर नगरपालिका–३ कै २८ वर्षीय त्रिकिशोर कुशवाहा रहेका छन्। दुवैजनालाई सोमबार पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिएका छन्।
प्रहरीका अनुसार २०८२ साल असार ६ गते दिउँसो करिब १ः४० बजे मौलापुर नगरपालिका–३ स्थित विद्युत् कार्यालय नजिक मौलापुर–जयनगर सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए।
वडाध्यक्ष कोइरीले चलाएको ना।२५ प १२२५ नम्बरको मोटरसाइकल र त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा त्रिकिशोरको मोटरसाइकलको पछाडि सवार स्थानीय २० वर्षीय निरज कुशवाहा घाइते भएका थिए।
गम्भीर घाइते निरजको उपचारका क्रममा गत माघ १७ गते बिहान करिब १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएपछि सवारी ज्यान मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा फरार रहेका वडाध्यक्ष कोइरी र मोटरसाइकल चालक त्रिकिशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसीले बताएका छन्।
प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

