वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट प्रहरीले स्रोत नखुलेको ५३ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।
ठूलो परिमाणमा नेपाली नगद बरामद भएपछि प्रहरीले रकमको स्रोत र सम्भावित आर्थिक कारोबारका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक घटनाले सीमावर्ती क्षेत्रमा हुने हुन्डी, अनौपचारिक रकम स्थानान्तरण तथा क्रिप्टोकरेन्सीसँग जोडिएका सम्भावित वित्तीय कारोबारतर्फ समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यद्यपि पक्राउ परेका व्यक्तिहरू क्रिप्टोकरेन्सी वा हुन्डी कारोबारमा संलग्न रहेको प्रहरीले अहिलेसम्म पुष्टि गरेको छैन।
गोप्य सूचनाका आधारमा परिचालित प्रहरी टोलीले सोमबार साँझ करिब ६ः३० बजे आदर्शनगरमा प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना।५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकी खानतलासी गरेको थियो। उक्त मोटरसाइकलमा सवार चार जनाको साथबाट ठूलो परिमाणमा नगद फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो।
पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्ला डुमरा थाना–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुल कुमार गुप्ता छन्।
प्रहरीका अनुसार सुरज कर्णको साथबाट १ लाख, उपेन्द्र साहबाट १८ लाख १६ हजार, सागरकुमार सर्राफबाट १८ लाख ३४ हजार र राहुल कुमार गुप्ताबाट १६ लाख रुपैयाँ बरामद भएको छ।
बरामद रकममा एक हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार, पाँच सय दरका २ हजार ३ सय ५३ थान नोटबाट ११ लाख ७६ हजार ५ सय, एक सय दरका ६ सय ४३ थान नोटबाट ६४ हजार ३ सय तथा ५० दरका ८४ थान नोटबाट ४ हजार २ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
सीमावर्ती वीरगन्जमा ठूलो परिमाणको स्रोत नखुलेको नगद बरामद हुनु आर्थिक अपराध अनुसन्धानका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। विशेषगरी हुन्डी कारोबारमा बैंकिङ प्रणाली बाहिर रकम संकलन तथा भुक्तानी हुने भएकाले ठूलो नगद रकमको आवतजावतलाई अनुसन्धानको महत्वपूर्ण पाटो मानिन्छ। पछिल्लो समय डिजिटल सम्पत्तिसँग सम्बन्धित कारोबारमा पनि नगद संकलन गरी डिजिटल माध्यमबाट रकम स्थानान्तरण गर्ने सम्भावना रहने भएकाले अनुसन्धानकर्ताले आवश्यक परे डिजिटल कारोबार, मोबाइल तथा बैंकिङ विवरणसमेत परीक्षण गर्न सक्नेछन्।
तर हालसम्म प्रहरीले बरामद रकम हुन्डी वा क्रिप्टोकरेन्सी कारोबारबाट आएको हो भन्ने कुनै निष्कर्ष सार्वजनिक गरेको छैन। त्यसैले रकमको वास्तविक स्रोत, प्रयोजन र पक्राउ परेका व्यक्तिहरूबीचको आर्थिक सम्बन्ध अनुसन्धान भइरहेको जनाइएको छ।
प्रहरीले बरामद नगद तथा दुवै मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा रकमको स्रोत पुष्टि भएमा घटनाले सीमावर्ती क्षेत्रमा हुने अवैध वित्तीय कारोबारको थप सञ्जालसमेत उजागर गर्न सक्ने देखिएको छ।

