सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकले पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ भने वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती -बारा) लाई नियुक्ति गर्ने निर्णय समेत भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
साथै बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर मा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।
त्यसैगरि मन्त्रीपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि गरेको छ ।
प्रवक्ता पोखरेलले बिभिन्न घटनाका लागि छानविन गर्न गठित कतिपय समिति वा आयोगहरुको प्रतिवेदन सार्वजनिक भइसकेको र केहि प्रतिवेदनहरु सार्वजनिक गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।

