२०८३ श्रावण २७, बुधबार ०६:२६

साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको मंगलबार जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

डा. विमलको पार्थिव शरीरमा उनको जेठा सुपुत्र डा. आभाषलाभ कर्णले दागबत्ती दिएका थिए । अन्त्येष्टिका क्रममा नेपाल प्रहरीको टोलीले स्वर्गीय वरिष्ठ साहित्यकार डा. विमललाई सलामी अर्पण गरेको थियो । वरिष्ठ साहित्यकार डा. विमलप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश), मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्ण, मधेश प्रदेशसभाका सभामुख रामअशिष यादव, प्रतिनिधिसभा सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर जनकपुरधाम– १० देवीचोकस्थित निवासमा राखिएको थियो । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा. विमलको सोमबार राति १२ः४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको परिवारजनले जनाएको छ । उनको निधनसंगै नेपाली तथा मैथिली साहित्य, भाषा आन्दोलन र मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् ।

साहित्यकार रोशन जनकपुरीले वरिष्ठ साहित्यकार डा. विमलको निधनले नेपाली–मैथिली साहित्यमा अतुलनीय क्षति पुगेको बताए । मैथिली– नेपाली साहित्यमा औँलामा गणनामा गनिने मध्येका साहित्यकार रहेकाले डा. विमलको निधनले एउटा युगको अवसान भएको टिप्पणी साहित्यकार जनकपुरीले गरे । डा. विमल सक्षम साहित्यकार रहेको समेत उनले बताए । सन् १९४७ जुलाई २६ मा धनुषाको देवडिहा गाउँस्थित खिरखिरियामा जन्मनुभएका डा. विमलले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर तथा भाषाविज्ञानमा विद्यावारिधि गरे ।

जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पससहित विभिन्न शिक्षण संस्थामा करिब चार दशक नेपाली विषय अध्यापन गर्नुभएका उनी अवकाशपछि पनि साहित्यिक तथा बौद्धिक गतिविधिमा सक्रियता रही नै रह्यो । वरिष्ठ साहित्यकार डा. विमलको पहिलो कथा …विपतियाÚ १५ मार्च १९६३ मा ‘मिथिला मिहिर’ मा प्रकाशित भएको थियो । त्यसयता उनी कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बालसाहित्य, अनुवाद तथा भाषाविज्ञानका क्षेत्रमा निरन्तर सक्रिय रहे । डा. विमलद्वारा रचित …ई हमरे कथा थिकÚ, …इतिहासक घाओ; डा. विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ र ‘फिस्टी रानी’ लगायत कृति प्रकाशित छन् । उनको रचना ‘गोरखापत्र, ‘मधुपर्क’ र ‘गरिमा’ लगायतका पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए। उहाँको कथामा आधारित …हंसा चलल परदेशÚ नामक मैथिली टेलिफिल्मसमेत नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो ।

मैथिली विकास कोष, जनकपुरधामका संस्थापक अध्यक्षसमेत रहेका डा. विमलले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान छ । उनी नेपाल विद्यापति भाषा, साहित्य पुरस्कारका पहिलो प्राप्तकर्तासहित गरिमा सम्मान, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, सिद्धिश्री पुरस्कारलगायत विभिन्न सम्मानबाट विभूषित हुनुभएको थियो । मैथिली विकास कोष जनकपुरधामका अध्यक्ष जीवनाथ चौधरीले वरिष्ठ साहित्यकार डा. विमलको निधनले मैथिली– नेपाली साहित्य क्षेत्रमा मात्र नभइ मुलुकको साहित्य क्षेत्रमा अपुरणीय क्षति भएको बताए ।

साहित्यकारसमेत रहेका पत्रकार नित्यानन्द मण्डलले जनाए अनुसार वरिष्ठ साहित्यकार डा. विमलको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीडा, प्रेम, वियोग, आक्रोश र विद्रोह सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ । नेपालभित्रको मिथिला र मिथिलावासीको सामाजिक यथार्थलाई मौलिक शैलीमा प्रस्तुत गर्नु उहाँको लेखनको प्रमुख विशेषता थियो ।

वरिष्ठ साहित्यकार डा. विमलको निधनप्रति जनकपुरधाम उपमहानगरपालिकाले उनको सम्मानमा जनकपुरधाममा नगर परिक्रमा गर्दै नागरिक अभिनन्दन कार्यक्रम गरेको थियो ।

Comment


Related News

Latest News

Trending News