२०८३ श्रावण २७, बुधबार ०६:२९

रौतहटको देवाही गोनाही नगरपालिका–२ मा पर्ने लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन् ।

मंगलबार दिउँसो उक्त नदीमा नुहाउने क्रममा उनीहरू पानीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका–२ लक्षमिनियाका शेख कमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह, शेख खुर्सैदकी अन्दाजी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुन रहेका छन् । घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा नौ जना प्रहरी घटनास्थल पुगेका थिए । त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको नेतृत्वमा सात जनाको टोलीसमेत खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ । बेपत्ता बालबालिकाको खोजीलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा नौ सदस्यीय डुबान उद्धार टोली रबर बोटसहित घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक -डीएसपी) बसन्त गौतमका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लाल बकैया नदीमा बेपत्ता तीनै बालबालिकाको खोजीलाई तीव्रता दिएको छ । नदीमा पानीको बहाव, गहिराइ तथा भौगोलिक अवस्थाका कारण खोजी कार्यमा चुनौती देखिएको भए पनि सुरक्षाकर्मीले उपलब्ध स्रोत–साधनको प्रयोग गर्दै सम्भावित स्थानमा खोजी गरिरहेका छन् । प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ पर्छ । घटनापछि स्थानीय बासिन्दासमेत नदी आसपास भेला भएका छन् ।

एकैपटक तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि लक्षमिनिया टोलमा चिन्ता र त्रास फैलिएको छ । परिवारजन आफन्त तथा स्थानीयवासी बेपत्ता बालबालिका सकुशल भेटिने आशामा घटनास्थलमा छन् । सुरक्षाकर्मीले नदीको बहाव तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै खोजी कार्य जारी राखेका छन् ।

बेपत्ता बालबालिकाको अवस्था र खोजीको प्रगतिबारे थप विवरण आउन बाँकी रहेको रौतहट प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News