लागुऔषध तथा मदिराको लतबाट छुटकारा दिलाउने उद्देश्यले सञ्चालनमा रहेका सुधार केन्द्रहरू नै पछिल्लो समयका केही घटनाले यातनागृहको रुपमा परिणत हुँदै गएको देखिन्छ ।
नशामुक्तिका लागि परिवारले विश्वास गरेर पठाएका व्यक्तिको मृत्यु तथा कुटपिटका घटना सार्वजनिक हुन थालेपछि सुधार केन्द्रको व्यवस्थापन, अनुगमन र नियमनमाथि प्रश्न उठेको छ । धनुषाको धारापानीस्थित शुभेच्छा फाउन्डेसन तथा सुधार केन्द्रमा हालै एक युवकको मृत्यु भएपछि यो विषय पुनः चर्चामा आएको हो । गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय मोजिबुल राईनलाई परिवारले मदिराको लतबाट छुटकारा दिलाउने उद्देश्यले २० साउनमा उक्त केन्द्रमा भर्ना गरेका थिए ।
केन्द्रमा भर्ना भएको तीन दिनमै उनको मृत्यु भएको हो । मृतकको शरीरका विभिन्न भागमा चोटपटक तथा नीलडाम देखिएको भन्दै परिवारले सुधार केन्द्रमै कुटपिट भएको आशंका गरेको छ । प्रहरीले समेत शवको शरीरमा चोटका संकेतहरू देखिएको जनाएको छ । यद्यपि, पोस्टमार्टम रिपोर्ट प्राप्त नभएसम्म मृत्युको यकिन कारण भन्न नसकिने प्रहरीको भनाइ छ । मृतककी आमा बतुला खातुनले केही व्यक्तिले अस्पतालमा शव छाडेर गएको दृश्य सीसीटीभी फुटेजमा देखिएको दाबी गरेकी छन् । सुधार केन्द्रका सञ्चालकले छोराको मृत्युबारे परिवारलाई समयमै जानकारी नगराएको उनको आरोप छ ।
घटनाबारे अनुसन्धान गर्न प्रहरीले सुधार केन्द्रका सञ्चालकसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । मधेसमा सुधार केन्द्रसँग जोडिएको मृत्युको यो पहिलो घटना भने होइन । ८ फागुन २०८१ मा जनकपुरधामस्थित एक सुधार केन्द्रमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादवको मृत्यु भएको थियो । परिवारले उनलाई करिब दुई महिनाअघि जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगाशिवपुरस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा भर्ना गरेका थिए । केन्द्रमा रहँदा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । त्यसअघि २ फागुन २०८१ मा बाराको कलैया उपमहानगरपालिका–१ बैंक रोडस्थित नव जन्म सुधार केन्द्रमा कलैया–९ रामपुरका ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको थियो ।
उनलाई कुटपिट गरिएको र त्यसैका कारण मृत्यु भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो । तर, सुधार केन्द्रमा हुने मृत्युका घटनाको वास्तविक संख्या कति हो भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन । मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सुधार केन्द्रमा हुने मृत्युको छुट्टै अभिलेख प्रहरीसँग छैन । मधेसमा ४० सुधार केन्द्र गृह मन्त्रालयका अनुसार मधेस प्रदेशमा करिब ४० वटा सुधार केन्द्र दर्ता छन् । तीमध्ये सप्तरीको एउटा केन्द्र हाल सञ्चालनमा छैन । सञ्चालनमा रहेका ३९ वटा केन्द्रमा करिब ८८३ जना सेवाग्राही रहेको मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका अनुसार पर्सामा सबैभन्दा बढी नौ वटा सुधार केन्द्र दर्ता छन् । बारामा सात, धनुषामा छ, सिरहा र सर्लाहीमा पाँच–पाँच, महोत्तरीमा चार तथा रौतहटमा तीन वटा केन्द्र दर्ता छन् । सञ्चालनमा रहेका केन्द्रमध्ये सिरहाका पाँच केन्द्रमा ११५, धनुषाका छ केन्द्रमा १५८, महोत्तरीका चार केन्द्रमा ६३, सर्लाहीका पाँच केन्द्रमा १९३, रौतहटका तीन केन्द्रमा २२, बाराका सात केन्द्रमा ९६ र पर्साका नौ केन्द्रमा २३६ जना सेवाग्राही रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । सेवाग्राही भर्ना हुने र उपचारपछि केन्द्रबाट बाहिरिने क्रम निरन्तर चलिरहने भएकाले केन्द्रमा रहेका व्यक्तिको संख्या परिवर्तन भइरहने मन्त्रालयले जनाएको छ ।
यसैबीच सुधार केन्द्रमा सेवाग्राहीमाथि कुटपिट तथा यातना हुने गुनासा पटक– पटक सार्वजनिक भए पनि सम्बन्धित निकायको अनुगमन प्रभावकारी हुन नसकेको मानवअधिकारकर्मीहरूको आरोप लगाएका छन् । मानवअधिकार संस्था इन्सेकका मधेस प्रदेश संयोजक राजु पासमान सुधार केन्द्रमा यातना सम्बन्धी गुनासा निरन्तर बाहिर आइरहेकाले प्रभावकारी अनुगमन आवश्यक रहेको बताउँछन् । उनका अनुसार सुधार केन्द्रको उद्देश्य नशामुक्तिसँगै सेवाग्राहीको मानवअधिकार संरक्षण गर्नु पनि हुनुपर्नेमा त्यसतर्फ सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल जिल्ला प्रशासन कार्यालयले समय–समयमा सुधार केन्द्रको अनुगमन गर्दै आएको बताउँछन् । उनका अनुसार अनुगमनका क्रममा सेवाग्राहीबाट यातना वा कुटपिटसम्बन्धी उजुरी नआएकाले सञ्चालकलाई कारबाही गर्ने अवस्था नदेखिएको हो ।
तर, सुधार केन्द्रमै रहेका व्यक्तिको मृत्यु र कुटपिटका घटना सार्वजनिक भइरहेका बेला नियमित अनुगमन, उजुरी संयन्त्र र सेवाग्राहीको सुरक्षाको प्रभावकारितामाथि भने गम्भीर प्रश्न उठेको छ ।

