करीब दुई सातादेखि आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले चार बुँदे सहमति पश्चात हाललाई आमरण अनशन स्थगित गरेका छन् ।
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय तथा हिन्दु हितको संरक्षण लगायतका माग राख्दै आमरण अनशनमा बसेका अध्यक्ष विनय यादवले सरकारसँग चारबुँदे लिखित सहमति भएपछि यादवले अनशन स्थगित गरेका हुन् । यादव गत साउन १४ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा बसेका थिए ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाका पीडितलाई न्याय, दीर्घकालीन नीतिगत स्पष्टता तथा सुरक्षा व्यवस्थालगायतका विषयमा उनले ६ बुँदे माग अघि सारेका थिए । राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मानिष पुर्वेद्वारा जारी विज्ञप्तिमा सरकारले अध्यक्ष यादवले राखेका माग सम्बोधन गर्ने प्रतिबद्धतासहित चारबुँदे लिखित सहमति गरेकाले तत्कालका लागि आमरण अनशन स्थगित गरिएको उल्लेख छ ।
दलले सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले गरेको प्रतिबद्धताअनुसार यथाशीघ्र काम हुने विश्वास व्यक्त गरेको छ । साथै, हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि आवश्यकता अनुसार आगामी दिनमा पनि आन्दोलन जारी राख्ने जनाएको छ ।
अध्यक्ष यादवले कुमारी कन्याको हातबाट जुस पिएर आमरण अनशन तोडेका हुन्

