लाल बकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुईजनाको शव बुधबार बिहान फेला परेको छ । एक बालिकाको भने अझै अत्तोपत्तो छैन ।
रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलमा मंगलबार दिउँसो नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता भएका थिए ।
बुधबार बिहान करिब साढे ६ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर तल जिङडिया पुलनजिक दुई बालबालिकाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईका अनुसार फेला परेको शव स्थानीय शेख कमरे आलमका करिब १० वर्षीय छोरा मो। रमतुल्लाह र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुनको हो ।
उनीहरूसँगै नदीमा डुबेकी शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन भने अझै बेपत्ता छिन् । उनको खोजीका लागि सुरक्षाकर्मीले नदीको विभिन्न क्षेत्रमा खोजी अभियान जारी राखेका छन् ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक भट्टराईको कमाण्डमा ९ जना प्रहरी परिचालन गरिएको थियो । त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट असई भक्तबहादुर शाहीको नेतृत्वमा ७ जनाको टोली खोजी तथा उद्धारमा खटिएको थियो ।
बेपत्ता बालिकाको खोजीलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं। ११ गण हेडक्वार्टर रौतहटबाट असई भीमबहादुर पुनको कमाण्डमा ९ सदस्यीय डुबान उद्धार ९डीएम० टोली रबर बोर्डसहित घटनास्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रौशनको खोजीलाई तीव्र बनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ पर्छ ।
लाल बकैया नदीमा पछिल्लो समय पानीको बहाव बढेसँगै स्थानीय क्षेत्रमा नदीजन्य जोखिमसमेत बढेको छ । घटनापछि स्थानीयवासीमा त्रास र चिन्ता बढेको छ ।

