पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएसंगै कांग्रेसभित्रको शक्ति समीकरण र उनको आगामी भूमिकाबारे बहस चुलिएको छ ।
हङकङबाट थाई एयरको उडानमार्फत बिहीबार मध्यान्ह करिब साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका निवर्तमान सभापति देउवाको स्वागतमा कांग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकको ठूलो भीड जम्मा भएको थियो । विमानस्थलबाट उनलाई चुनदेवीस्थित संस्थापनइतर समूहको सम्पर्क कार्यालयसम्म पु¥याउन सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको थियो । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवाको स्वदेश फिर्तीको स्वागत गर्दै उनको स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकबाटे पार्टी र देशमा विधि तथा पद्धति स्थापित गर्न लामो संघर्ष गरेका देउवाले विशेष महाधिवेशनबाट आएको परिवर्तनलाई संस्थागत गर्दै पार्टी निर्माणमा निवर्तमान सभापतिका रूपमा ‘अभिभावकीय भूमिका’ निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। कांग्रेसले लोकतान्त्रिक आन्दोलन तथा पार्टीको इतिहास निर्माणमा देउवाले गरेको योगदानको समेत सम्मान गरेको जनाएको छ । संस्थापनइतर समूहका नेता मीन विश्वकर्माले देउवाको आगमनसंगै पार्टीभित्र देखिएको मतभेद अन्त्य हुने र समन्वयकारी नेतृत्व प्राप्त हुने अपेक्षा व्यक्त गरे । तर स्वदेश फर्किएपछि देउवाले दिएका दुई फरक शैलीका अभिव्यक्तिले भने उनको आगामी राजनीतिक भूमिकालाई थप चासोको विषय बनाएको छ।
विमानस्थलबाट सार्वजनिक गरिएको वक्तव्यमा देउवा निकै संयमित देखिए। आफूलाई शक्ति वा पदको आकांक्षीभन्दा राष्ट्रको नागरिकका रूपमा प्रस्तुत गर्दै उनले राष्ट्रिय एकता, लोकतान्त्रिक प्रक्रिया र परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । ‘परिवर्तनको ठूलो आकांक्षा’ बोकेका जनताको अपेक्षा सम्बोधन गर्नु सरकारको दायित्व भएको बताउँदै उनले राजनीतिक आग्रह–पूर्वाग्रहबाट टाढा रहन सरकारलाई आग्रह गरे । परिवर्तन व्यवस्थापनमा सहयोग गर्न आफूहरू तयार रहेको र रूपान्तरण विवेक, पारदर्शिता तथा न्यायका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
तर चुनदेवीस्थित आफ्नै समूहको सम्पर्क कार्यालयमा पुगेपछि देउवा भने आक्रामक बने । आफू र पत्नी आरजु राणा देउवामाथि मुद्दा चलाउने तथा पक्राउ गर्ने प्रयास भएको भन्दै उनले सरकार र सम्बन्धित निकायप्रति तीव्र असन्तुष्टि जनाए । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा समेत राजनीतिक प्रतिशोध साधिएको आरोप लगाउँदै उनले आफूहरूलाई रोक्न खोजिए त्यसको राजनीतिक रूपमा प्रतिवाद गर्ने चेतावनी दिए ।’प्रजातन्त्र कसैले खोस्न सक्दैन’ भन्दै देउवाले विगतमा राजा ज्ञानेन्द्रले समेत आफूलाई रोक्न नसकेको प्रसंग सुनाए । उनका यी अभिव्यक्तिले उनी अब सक्रिय राजनीतिबाट पूर्ण रूपमा अलग रहनेभन्दा पार्टीभित्र प्रभावशाली अभिभावकको भूमिकामा रहने संकेतका रूपमा पनि हेरिएको छ ।
विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेसंगै देउवा सभापति पदबाट बाहिरिएका छन् । पार्टीको आधिकारिकता विवादसमेत अदालतमा पुगेको अवस्थामा उनको स्वदेश फिर्तीले कांग्रेसको आन्तरिक विवादमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ । देउवा झण्डै एक वर्षदेखि कांग्रेसको सक्रिय नेतृत्वबाट बाहिर छन् ।
जेन– जी आन्दोलनका क्रममा २४ भदौ २०८२ मा बूढानीलकण्ठस्थित निवासमा आक्रमण भएपछि उनी सक्रिय राजनीतिबाट क्रमशः टाढिएका थिए । त्यसपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर उनी उपचारका लागि सिंगापुर गएका थिए । यसबीच कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच विवाद चर्कियो। देउवा पक्षले विशेष महाधिवेशनमा भाग लिएन । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि देउवा सभापति पदबाट बाहिरिए । अहिले कांग्रेसको आधिकारिकता विवादसमेत अदालतमा पुगेको अवस्थामा देउवाको स्वदेश फिर्तीले पार्टीभित्रको समीकरणमा नयाँ प्रभाव पार्ने आकलन गरिएको छ ।
संस्थापनइतर समूहका प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले देउवाको आगमनसंगै पार्टीभित्रको मतभेद अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । राजनीतिक विश्लेषक सौगात गौतमले देउवाको राजनीतिक विरासतको वास्तविक परीक्षा अब सुरु भएको बताए ।
युवा पुस्तालाई अगाडि आउनुपर्ने र परिवर्तनलाई आत्मसात् गर्नुपर्ने देउवाको सन्देश सकारात्मक भए पनि त्यसलाई पार्टीभित्रको व्यवहारमा उतार्नुपर्ने उनको भनाइ छ ।

