जनकपुरधामस्थित दुधमती नदीको पक्की पुल शिलान्यासको ७ वर्ष बितिसक्दा पनि अहिलेसम्म निर्माण हुन सकेको छैन ।
ढल्केबर–जनकपुर–जटही ६ लेन सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि सोही सडकखण्डमा पर्ने विन्घीबाट एयरपोर्ट हुँदै नगराईन जाने बाटोमा रहेको सो दुधमती खोलाको पुल निर्माण पूरा हुन सकेको छैन । जनकपुरधामलाई भारतसँग जोड्ने भिट्ठामोड, मटिहानी र जटही नाकासम्मको आवागमन तथा व्यापार र धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण मानिएको सडकमा पुल नबन्दा आवात जावत गर्न निकै सास्ती स्थानीयलाई भोग्नु परिरहेको छ ।
स्थानीयका अनुसार पछिल्ला चार वर्षयता पुल निर्माणस्थलमा कुनै उल्लेख्य काम भएको छैन । निर्माणका लागि राखिएका फलामे डण्डीमा खिया लागेको छ भने पुल वरिपरि झारपात उम्रिएर क्षेत्र नै खण्डहरजस्तो देखिन थालेको छ । निर्माणस्थलमा राखिएका जेसीबी, ट्र्याक्टर तथा करिब १५ देखि २० टन फलामे सामग्रीसमेत लामो समयदेखि प्रयोगविहीन अवस्थामा त्यसै फालिएको छ । ती सामाग्रीमा खिया लागेर काम नलाग्ने भइसकेको छ । निर्माण सामग्रीको सुरक्षाका लागि पुल क्षेत्रमा चौकीदार राखिएको छ ।
यसअघि पुल निर्माणस्थलको छेउबाट बनाइएको डाइभर्सनमार्फत पैदलयात्रु, साइकल तथा मोटरसाइकल आवतजावत गर्ने गरेका थिए । तर, वर्षायाम सुरु भएपछि डाइभर्सनमा पानीको सतह बढ्दा पछिल्लो दुई–तीन सातादेखि सामान्य आवतजावतसमेत बन्द भएको छ । यसको प्रत्यक्ष मारमा स्थानीय विद्यार्थी तथा सर्वसाधारण परेका छन् । पुलको वारिपारि रहेका विद्यालय तथा क्याम्पसमा जाने विद्यार्थीलाई घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
स्थानीयहरुका अनुसार पहिले डाइभर्सनबाट आवतजावत गर्न सकिने भए पनि अहिले पानी बढेपछि त्यो बाटोसमेत बन्द भएको छ । सो पुलको शिलान्यास एमाले नेता एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रघुवीर महासेठले गरेका थिए । दुधमती खोलामा पुल निर्माणका लागि २०७६ जेठ २५ गते नागार्जुन हेम जेबीले १३ करोड ९५ लाख ६४ हजार ३ सय ३८ रुपैयाँमा ठेक्का पाएको थियो । सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि सरकारले पटकपटक म्याद थप गरेको थियो ।
पछिल्लो पटक २०८२ माघ १७ गतेसम्म निर्माण सम्पन्न गर्ने समयसीमा दिइएको थियो । तर, उक्त अवधिसम्म पनि निर्माण पूरा नभएपछि सडक डिभिजन कार्यालय जनकपुरले २०८३ असार २६ गते सूचना प्रकाशित गरी ठेक्का सम्झौता रद्द गरेको हो । सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख दारोगा प्रसादका अनुसार ठेक्का रद्द गरेपछि ठेकेदारबाट रकम असुलीका लागि अदालतमा मुद्दासमेत दायर गरिएको छ । उनका अनुसार पुल पुनः निर्माणका लागि आवश्यक लागत अनुमानसहितको प्रक्रिया पूरा गरी फाइल सम्बन्धित निकायमा पठाइसकिएको छ ।
मन्त्रालयस्तरबाट प्रक्रिया अघि बढिरहेको र आगामी असोजभित्र नयाँ ठेक्का लाग्ने सम्भावना रहेको उनले बताए । उनले भने ‘पुलको अनुगमन तथा निरीक्षण गरेर लागत तयार गरी माथि पठाएका छौँ । मन्त्रालयबाट प्रक्रिया अघि बढिरहेको छ । सम्भवतः असोजभित्र नयाँ ठेक्का लाग्छ, ।’ ६ वटा ठेक्का रद्द सडक डिभिजन कार्यालय जनकपुरधामका अनुसार धनुषामा तोकिएको समयभित्र काम सम्पन्न नगरी आयोजना अलपत्र पार्ने विभिन्न निर्माण कम्पनीका ६ वटा ठेक्का सम्झौता रद्द गरिएको छ ।
नागार्जुन हेम जेबीका मात्रै तीनवटा ठेक्का रद्द भएका छन् । त्यस्तै, सडक तथा पुल सुधारको ठेक्का पाएका स्काई कन्ट्रक्सन एण्ड सप्लायर्स, बाबा बुद्धेश्वरनाथ कन्ट्रक्सन कम्पनी र चुरे कन्ट्रक्सन एण्ड सप्लायर्सका ठेक्का पनि रद्द गरिएको कार्यालयले जनाएको छ । रद्द भएका आयोजनाका लागि पुनः ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । कार्यालयले असोजभित्रै पुनः ठेक्का प्रक्रियालाई अगाडि बढाउने योजना बनाएको जनाएको छ ।
वर्षौँदेखि विकास आयोजनाहरू अलपत्र पर्दा राज्यको लगानी खेर जाने मात्र नभई स्थानीयले समेत त्यसको प्रत्यक्ष मूल्य चुकाउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

