नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी नेताहरूले पार्टीको आन्तरिक एकता र वैधानिकतामाथि जोड दिएका छन् ।
भेलाका प्रमुख अतिथि पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीको विधि र विधान मिचेर कांग्रेसलाई कमजोर बनाइएको दाबी गरे । पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै काठमाण्डूमा शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । उनले कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत भएको टिप्पणी समेत गरे । पार्टीभित्रको आन्तरिक विवादबारे बोल्दै देउवाले विशेष महाधिवेशनले पार्टीलाई क्षति पु¥याएको दाबी गरे ।
‘विशेष महाधिवेशनका नाममा विधि विधान मिच्ने काम भएको छ, जसले पार्टीलाई कमजोर बनाएको छ,’ उनले भने, ‘यस विषयमा सर्वोच्च अदालतबाट न्याय मिल्नेछ भन्नेमा म विश्वस्त छु ।’ देउवाले पार्टीभित्र बृहत्तर एकताको आवश्यकता औँल्याउँदै सबै नेता–कार्यकर्तालाई एकजुट हुन आह्वान गर्दै भने ‘सबै साथीहरूलाई न्याय हुने र सबैको भावनाको कदर हुने गरी एकता खोज्न आवश्यक छ,’ उनले भने, ‘जनताको अधिकार र भूमिकाका लागि म जुनसुकै त्याग गर्न तयार छु ।’
भेलालाई सम्बोधन गर्दै अधिकांश वक्ताले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै विधान र लोकतान्त्रिक मूल्यमान्यता अनुसार पार्टी सञ्चालन हुनुपर्ने धारणा राखेका हुन् । उनीहरूले देशको राष्ट्रियता संकटमा परेको भन्दै पार्टीभित्रको गुटबन्दी अन्त्य गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले अहिले मुलुकको राष्ट्रियता गम्भीर संकटमा रहेको बताउँदै यसको रक्षाका लागि पार्टीको आन्तरिक एकता पहिलो सर्त भएको उल्लेख गरे। बीपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किएको समयभन्दा अहिलेको परिस्थिति सयौँ गुणा बढी चुनौतीपूर्ण रहेको उनको दाबी छ ।
अर्का नेता डा. शेखर कोइरालाले पनि मुलुक संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको र देशको अस्तित्व तथा राष्ट्रियतामाथि खतरा उत्पन्न भएको बताए । ‘यो परि स्थिति किन निर्माण भयो भन्नेबारे हामीले गम्भीर समीक्षा गर्न आवश्यक छ,’ संसद् र प्रेस स्वतन्त्रताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘यसलाई चिर्न नेपाली कांग्रेसले नै नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’
पूर्वउपसभापति विमलेन्द्र निधिले पनि १५ औं महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मात्र भएको स्पष्ट पारे । उनले भने ‘धोखाधडी वा कब्जा गरेर बनाइएका कुनै पनि विशेष महाधिवेशन वा कमिटीलाई १५ औं महाधिवेशन गराउने कुनै अधिकार छैन ।’ भेलामा पूर्व उपसभापति प्रकाशमान सिंह, नेताहरु विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, रमेश लेखक, नारायणप्रकाश साउद र मोहनबहादुर बस्नेत लगायतका नेताहरुले १४ औं महाधिवेशन अवैधानिक रहेको ठहर गर्दै १५ औं अधिवेशन पार्टी सभापति देउवाको नेतृत्वमा गरिनुपर्नेमा जोड दिएका थिए ।
यसैबीच भेलाको उद्घाटन सत्र सम्पन्नपछि दोश्रो दिन शनिवार बन्द गरिने कार्यक्रमको कार्यतालिका पनि सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यतालिका अनुसार भोलि बिहान ७ बजेदेखि ९ बजेसम्म सुकेधारास्थित मिराकल पार्टी भेन्यूमै खाजाको समय तोकिएको छ । त्यसपछि ९ बजेबाट बन्दसत्र सुरु हुने कार्यतालिका रहेको सचिवालय संयोजक दीपक कुइँकेलले जानकारी दिएका छन् ।
कार्यतालिका अनुसार बन्दसत्रको सुरुमा ९ बजेदेखि १२ बजेसम्म छलफलका विभिन्न प्रस्तावहरू प्रस्तुत हुनेछन् । जसमा राजनीतिक प्रस्ताव विमलेन्द्र निधि, आर्थिक प्रस्ताव डा. प्रकाशशरण महत, समसामयिक विषयका प्रस्ताव एनपी साउद, सांगठनिक प्रस्ताव उमाकान्त चौधरी र कानुन तथा विधानका प्रस्ताव रमेश लेखकले प्रस्तुत गर्नेछन् । १२ बजेदेखि २ बजेसम्म बिहानको खानाको समय तोकिएको छ । त्यसपछिको कार्यतालिका भोलि नै सार्वजनिक हुने बताइएको छ ।

