साहित्यकार, संस्कृतिविद्, पूर्वीय दर्शनका व्याख्याता, मैथिली विकास कोषका संस्थापक अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयको आङ्गिक कलेज रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका अवकाश प्राप्त सह–प्राध्यापक डा.राजेन्द्रप्रसाद विमलको साउन २६ गते मंगलवार बिहान १ वजे ७९ वर्षको आयुमा निधन भएको छ ।
मैथिली, नेपाली, हिन्दी र अङग्रेजी वाङमयमा विभिन्न विधाका डेढ दर्जनभन्दा अधिक पुस्तकका लेखक डा.विमलको अवसानसंगै जनकपुरधामस्थित ‘साहित्य गुरुकुल’ आचार्यविहीन बनेको छ । डा.विमल नेपाली, मैथिली र हिन्दी विषयका स्नात्कोत्तर थिए । अङग्रेजी भाषामा पनि उहाँको गजबको दखल थियो । भाषा, साहित्य, कला, संस्कृति, पूर्वीय र पश्चात् दर्शन, समाजशास्त्र, लोक साहित्य, तन्त्र, रहस्यवाद आदि विषयको जिज्ञासा शान्त गर्न जिज्ञासुहरु उहाँको गुरुकुलमा जान्थे ।
राराब क्याम्पसबाट अवकाश भएपछि, जनकपुरधाम– १० देवी चोकस्थित उहाँको घर गुरुकुल जस्तै थियो । सबैका लागि खुला । घरमा आउँने जिज्ञासुलाई चिया–नास्ता खुवाएर ज्ञान बाड्ने डा. विमल साहित्य गुरु जीवनाथ झापछिका तेश्रो र डा. धीरेश्वर झा ‘धीरेन्द्र’ पछिका दोश्रो आचार्य थिए । जहाँ वात्सायणको कामशास्त्र तथा चार्वाकको नास्तिक दर्शनमाथि पनि बहस हुन्थ्यो । याज्ञवल्य संघीयतादेखि गीता दर्शनसम्मका विषयमा छलफल हुन्थ्यो । साहित्य, समाज र राजनीतिका विभिन्न वाद, मिथिला संस्कृतिको पुनरुत्थान माथि बहस हुन्थ्यो अनि छलफल हुन्थ्यो– नेपाली राजनीतिका बिपी, गणेशमान, मदन भण्डारी, प्रचण्डदेखि जेन–जी आन्दोलनसम्मका विषयमा ।
‘डा. विमल एउटा कम्पलिट पैकेज हुनुहुन्थ्यो । भाषा, साहित्य, कला, संस्कृतिसंगै लोकसाहित्य, दर्शन, समाजशास्त्रजे विषयमा जिज्ञासा राख्दा तर्कपूर्ण जवाफ दिनुहुन्थ्यो । नयाँ साहित्यकारहरुलाई प्रोत्साहित गर्नु र पुरानाहरुलाई सचेत गराउनु हुन्थ्यो ।’ साहित्यकार रोशन जनकपुरीको प्रतिक्रिया थियो । भाषा विज्ञानमा विद्यावारिधि गर्नु भएका डा. राजेन्द्र विमलको अवसानसंगै साहित्यकारहरुको तेश्रो पुस्ताको गुरुकुल आचार्यविहीन बनेको छ ।
मिथिला नाट्यकला परिषद्का अध्यक्ष सुनिल कुमार मल्लिकको प्रतिक्रिया थियो– ‘जनकपुरधाममा विद्वान त धेरै छन्, तर उहाँ गुरु पनि हुनुहुन्थ्यो ।? हो, पनि आफै अध्ययन गर्ने, लेख्ने र निजी पद–प्रतिष्ठाका लागि मरिहत्ते गर्ने गुरु हुनै सक्दैनन् । गुरु त ज्ञान बाड्ने, जिज्ञासाहरुलाई तर्क र प्रमाणसहित शान्त गर्ने पो हुनु पर्दछ । स्वर्गीय विमललाई मंगलबार राजकीय सम्मानका साथ गंगासागरस्थित स्वर्गद्वारीमा अन्तिम संस्कार गरिएको थियो । जेठो छोरा डा. आभास लाभ (सुपरिचित गायक) दागवत्ति दिएका थिए ।
अन्तिम यात्रामा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेल (साहित्यको नाम गनेस पौडेल), संघीय सांसद मनिष झा, प्रदेश प्रमुख तथा स्वर्गीय विमलका कान्छो भाई डा. सुरेन्द्र लाभ, मधेश प्रदेशका सभामुख रामाशीष यादव, प्रदेश सरकारका मन्त्रीहरु मनोज कुमार सिंह, श्यामप्रसाद पटेल, शारदा देवी थापा, जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख मनोज कुमार साहसंगै सयौं नगरवासीको उपस्थित थिए ।
श्रद्धाञ्जलीको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा साहित्यकार गनेस पौडेलले आफ्नो पहिलो उपन्यास ‘पैताला’ लेख्दै गर्दा स्वर्गीय विमलको गुरुकुलमा एक महिनादीक्षा लिएको खुलासा गरेका थिए । तन्त्र, तान्त्रिक दर्शन तथा रहस्यवादमा आधारित पैताला नेपाली वाङ्मयका चर्चित उपन्यास हुन् ।
मार्च १९४७ मा जनकपुर नगरपालिका– १० देवी चोकमा जन्मिनु भएका डा. विमल २०२९ सालदेखि राराब क्याम्पसमा नेपाली विषयका प्राध्यापक थिए । छ वर्षको छ‘दा हिन्दीमा पहिलो पद जोड्न भ्याएका थिए । मसंगको भेटमा उनले भनेका थिए– ‘सानोमा म अलि बदमास थिए रे’ । एक दिन मेरो बाबूजी मलाई कुट्नु भयो । अनि मनको पिडा पोख्न मैले हिन्दीमा पद जोडें–
‘अब दुःख सहा नहि जाता विधाता
घरमे जो आता तो बाबू पिताता
स्कूलमे पिटाई खाता, विधाता
अव दुःख सहा नहि जाता विधाता’
१२ वर्षको उमेरमा उनको पहिलो लघु कथा ‘आर्यावर्त हिन्दी दैनिक’ मा प्रकाशित भएको थियो । १५ वर्षको उमेरमा आर्यावर्तमै प्रकाशित ‘कचनार के पेंड’ हिन्दी कथा निकै लोकप्रिय भएको थियो ।
यसै वर्ष मिथिला मिहीर -सुविख्यात् मैथिली मासिक) मा ‘मुईल बच्चा’ कथा प्रकाशित भएको थियो । एसएलसीको परीक्षा पछिको फुर्सदमा ‘चान अहा‘ उदास छी’ उपन्यास लेखेको डा. विमल मसंगको भेटमा जानकारी दिएका थिए । डा. विमलद्वारा लिखित इतिहासक घाउ र ई हमरे कथा थिक (मैथिली कथा संग्रह), सरबरिया टोल (नेपाली कथा संग्रह), बौवाक पोथी (बाल साहित्य), सूर्यास्तसँ पहिने -मैथिली गीत–गजल संग्रह),गद्य,पद्य र नाटक (नेपाली आलोचना), नेपाल परिचय नवनित (नेपाली), नयाँ जनकपुर नयाँ श्री जानकी (नेपाली), फिस्टीरानी -नेपाली बाल साहित्य), राजेन्द्र विमलका कथाहरु (नेपाली), मिथिलाको ईतिहास, संस्कृति र कला परम्परा (नेपाली), समयका आँखा -नेपाली कथा संग्रह) नेपाली र मैथिली वाङ् मयका अनमोल धरोहरहरु हुन् ।
उनि मिथिलाक व्यथा -पहिल मैथिली टेलि श्रृंखला) तथा हंसा चलल परदेश टेलिफिल्महरुको कथानकसंगै खाली हाथ, जयबाब भूंइया र सीता नाटकका लेखक पनि हुन् । जनकपुरका सन्त साहित्यका रामप्रिया शरणद्वारा लिखित सीतायण महाकाव्यको सम्पादन गरेका थिए । नेपाल सरकारद्वारा गठित नेपाल विद्यापति पुरष्कार कोषद्वारा प्रदान गरिने २ लाख राशिको नेपाल विद्यापति मैथिली भाषा, साहित्य पुरष्कार (२०६८) द्वारा पुरष्कृत हुने उनि पहिला स्रष्टा थिए ।
यसका अतिरिक्त जगदम्बा श्री पुरष्कार, राष्ट्रिय प्रतिभा पुरस्कार,गोपालप्रसाद रिमाल सम्मान, कुलचन्द्र कोईराला स्मृति साहित्यिक समारोह सम्मान, वैद्यनाथ सियादेवी मैथिली पुरस्कार, साझा प्रकाशन पुरस्कार लगायतका दर्जनौ पुरष्कार तथा सम्मानले उनि विभूषित थिए । २०६६ सालमा मदन पुरष्कार गुठीले डा. विमललाई जगदम्बा श्री पुरष्कार दिने घोषणा गर्दा उहाँलाई पहिलो सूचना दिनै मै थिएँ । म उहाँको घरमा पुग्दा उनि आफ्नो अध्ययन कक्षमा प्राज्ञ रमेशरंजन झा, मिनाप अध्यक्ष सुनिल मल्लिक तथा साहित्यकका विद्यार्थी राजेन्द्रसंग एक फिल्मको पटकथाको विषयमा छलफल गर्दै थिए । गंजी र लुंगी लगाएका डा.विमललाई मैले ‘जगदम्बाश्री’ पुरष्कारको वारेमा जानकारी दिदा, उनलाई पत्यारलागेन । भावावेशमा उनले आफ्नो मातृभाषामा भने—’हमरा विश्वास अछि तों हमरास‘ मजाक नहि करवह मुदा यदि ई बात सत्य अछि त ई हमर असफल जिनगीक पहिल खुसी हएत ।’
जनकपुरधाममा गुरुकुल परम्परा
प्राचीन मिथिलामा जनककालदेखिगुरुकुल र शस्त्रार्थ परम्परा रहेको विदित्तै छ । यो परम्परा कर्णाटकाकाल (सन् १०९७–१३५४) र मकवानपुरको सेनकाल (सन् १२५८–२१ अगस्ट १७६२) मा पनि कायम थियो । आधुनिक जनकपुरमा पनि यस परम्पराले निरन्तरता पायो । १७ हौं शताब्दीको पूर्वार्धमा जानकी मन्दिरका आदिमहन्त सूरकिशोर दास र राममन्दिरका आदिमहन्त चर्तुभुज गिरी जनकपुर आएका थिए । दुबै साधुको जनकपुर आगमनसंगै आधुनिक जनकपुरको रुपरेखा तयार भएको थियो ।
आरम्भमा अनौपचारिक शिक्षाबाट शुरु भएको शिक्षा प्रणाली विसं विसं. १९६६ मा याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय स्थापनासंगै संस्थागत स्वरुप ग्रहण गरेको थियो । अनौपचारिक र औपचारिक शिक्षा दिने शिक्षक (गुरुजी)हरु साहित्य, कला, संस्कृति आदि विषयमा वहस–छलफल चलाउनु हुन्थ्यो । वहस–छलफल प्रायः गुरुजीहरुको निजी निवासमै हुन्थयो । जसलाई अनौपचारिक गुरुकुल नाम दिइएको हो ।
जनकपुरधामको पहिलो गुरुकुल साहित्यगुरु जीवनाथ झाको आश्रमलाई मानिन्छ । उनी संस्कृतगुरुका रुपमा सन् १९५० को दशकमा जनकपुर आएका थिए । उनि मैथिली र संस्कृतका विद्वानसंगै कवि र नाटककार पनि थिए । उनले जनकपुरधामको साहित्यलाई सन् १९५० देखि सन् १९६१ सम्म आचार्यको रुपमा नेतृत्व गरेका थिए ।
इतिहासकार प्रफुल्ल कुमार सिंह ‘मौन’ पं.जीवनाथ झालाई आधुनिक नेपालको पहिलो मैथिली कवि भनी टिप्पणी गरेका छन् । जीवनाथ झा क्रियाशील रहेकै वेला १ अगस्ट १९६१ मा रामस्वरुप रामसागर बहुमुखि क्याम्पसको मैथिली प्राध्यापकको रुपमा डा.धीरेश्वर झा ‘धीरेन्द्र’ को जनकपुरधाम आगमन भएको थियो । उनी मैथिलीका प्राध्यापक भए पनि हिन्दी र अंग्रेजीका विद्वान थिए ।
डा. धीरेन्द्रको जनकपुर आगमनसंगै जनकपुरको साहित्य नवयुगमा प्रवेश गरेको थियो । डा. धीरेन्द्रको आश्रममा संचालित दोश्रो गुरुकुलसन् १९६१ देखि १९९७ सम्म चलेको थियो । अवकासपछि उनि भारत फर्केका थिए । सन् १९९७ पश्चात् जनकपुरका साहित्यकारहरुको गुरुकुलका आचार्य थिए– डा. राजेन्द्रप्रसाद विमल ।
मैथिलीसंगै नेपाली, अङेग्रेजी र हिन्दी साहित्यकासमेत जानकार रहेकाले उहाँको गुरुकुलमा बहुभाषाका साहित्यकारहरु जिज्ञासुको रुपमा भेला हुने गरेका थिए । डा.विमलको स्वर्गारोहनसंगै जनकपुरको गुरुकुल आचार्यविहीन बनेको छ ।

