भारतको झारखण्डमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका रौतहटका एक दम्पतीको शनिबार एउटै चिहानमा अन्त्येष्टि भइरहेको छ । दुर्घटनामा मृत्यु भएका १२ वर्षीय बालकको शव भने प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ ।
बोलबम यात्राका लागि रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीबाट भारतको बाबाधाम गएका तीर्थयात्री सवार बस शुक्रबार बिहान झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार भारतमा पोस्टमार्टम सम्पन्न भएपछि मृतकका आफन्तले शनिबार बिहान करिब ८ः३० बजे शव नेपाल ल्याएका थिए ।
नेपाल ल्याइएका गरुडा–६ पोठियाहीका ६५ वर्षीय नवलकिशोर चौधरी र उनकी श्रीमती ६२ वर्षीया श्रीमती सुन्दरकला देवीको शव झाँझ खोलास्थित शिवनगर घाटमा पुर्याइएको छ । दम्पतीको एउटै चिहानमा अन्त्येष्टि भइरहेको प्रहरीले जनाएको छ ।
दम्पतीको शव एउटै फर्कीमा राखेर घरबाट झाँझ खोलाको किनारमा रहेको घाटसम्म लगिएको थियो । अन्त्येष्टिस्थलमा इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी टोलीसमेत खटाइएको छ ।
दुर्घटनामा मृत्यु भएका सोही स्थानका राजेश महतोका १२ वर्षीय छोरा शिवम महतोको शव भने प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ । उनका बुवा रोजगारीका सिलसिलामा विदेशमा रहेकाले बुवा नेपाल फर्किएपछि मात्रै अन्त्येष्टि गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।
४५ तीर्थयात्री बोकेको बस ट्रकसँग ठोक्किएको थियो
गरुडा–६ पोठियाहीबाट गत आइतबार बाबाधाम यात्राका लागि छुटेको ना।६ ख १५५४ नम्बरको बसमा करिब ४५ जना तीर्थयात्री सवार थिए । बासुकीनाथ दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा शुक्रबार बिहान करिब ३ बजे सतगावाँ क्षेत्रमा बस मालवाहक ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनामा बसको अगाडिको भागमा ठूलो क्षति पुगेको छ । दुर्घटनालगत्तै सतगावाँ प्रहरीले घटनास्थलमा पुगेर घाइते तीर्थयात्रीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानमा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेकाले अहिल्यै यकिन निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु तथा घाइते भएका अधिकांश तीर्थयात्री गरुडा–६ पोठियाहीकै रहेको बताइएको छ । घटनापछि पोठियाही गाउँ शोकमा डुबेको छ ।
दुर्घटनाको खबर पाएलगत्तै मृतक तथा घाइतेका आफन्त विभिन्न सवारीसाधन रिजर्भ गरी भारत पुगेका थिए । उनीहरूले घटनास्थल तथा घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेर आफन्तको अवस्थाबारे जानकारी लिएका थिए ।

