अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ ।
चीनको ग्वाङझाउ सहरमा शनिबारबाट सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिनुहुँदै उहाँले सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्नुभएको हो । उहाले सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उहाँको भनाइ छ । बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको उहाले बताउनुभयो । अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुआत मात्रै गरेको उहाँले उल्लेख गर्नुभयो।
प्रवासको पुँजी र लगानी परिचालनको विषयमा पार्टीको घोषणा पत्रमा पनि उल्लेख भएको र सरकारले पनि विशेष पहल गरिएको उहाँले बताउनुभयो। सरकारले रुग्ण उद्योगहरूलाई पनि ब्युँताउँदै गरेको र यसलाई पुनर्ताजगी गरेर सञ्चालनका लागि राम्रो सीप र ज्ञान भएकालाई दिने भन्दै त्यसमा पनि प्रवासले सहभागिता जनाउन सक्ने अर्थमन्त्रीले बताउनुभयो।

