२०८३ श्रावण ३०, शनिबार १७:४५

रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टबाट खसेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय शेख मेहबुल हककी छोरी फातमा खातुन रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार फातमा शनिबार बिहान बाख्रा चराउन घरबाट निस्किएकी थिइन्। बाख्रा चराउने क्रममा कलभर्टको पर्खालबाट तल रहेको खाल्टोमा खसेपछि उनी जमेको पानीमा डुबेकी थिइन्।

बालिका पानीमा डुबेको देखेपछि स्थानीयवासीले तत्काल उद्धार गरी बाहिर निकाले पनि उनको मृत्यु भइसकेको थियो।

प्रहरीका अनुसार घटनाबारे बिहान साढे ९ बजे प्रहरी चौकी रामपुरखापमा जानकारी पुगेको थियो। त्यसपछि असई धीरेन्द्रकुमार झाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको कमान्डमा थप टोली खटाइएको प्रहरीले जनाएको छ।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News