ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको झुलोनोत्सव पर्व शनिवारदेखि सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु हुने यो पर्व पूर्णिमासम्म विभिन्न मठमन्दिरमा विशेष उत्साहका साथ मनाइन्छ ।
झुलोनोत्सवका अवसरमा जनकपुरधामस्थित मठमन्दिर आकर्षक सिंहासन तथा गद्दी सहितको रेशम डोरीको भुला -पिङ) निर्माण गरी भगवानलाई झुलाउने गरिन्छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको पौराणिक मान्यता रहेको छ ।
जनकपुरधाममा झुला उत्सवको प्रारम्भ सन् १७३० मा जानकी मन्दिरका आदी महन्त सुरकिशोर दास वैष्णवले गराएको थियो । त्यसपछिका महन्तहरूले निरन्तरता दिँदै आएको छ । यसको देखा सिकी गरेर मिथिलाञ्चलको अन्य मठ मंन्दिरहरुले पनि झुलनोत्सव पर्व मनाउँदै आएको छ । विगतमा सन्तहरू खुला चौर वा रुखको छहारीमा बास बस्दा झोलामा बोकेर ल्याएको शालिग्रामलाई आसनमा राखी झुलाउने गरेको थियो । त्यही परम्परा विस्तार हुँदै अहिले मिथिलाको प्रमुख सांस्कृतिक पर्वका रूपमा झुलोनोत्सव स्थापित हुँदै अहिले मठ मन्दिरसहित मनाउन थालिएको छ ।
जानकी मन्दिरसहित विभिन्न मन्दिरमा साँझदेखि नै भगवान् सीताराम झुलामा राखेर झुलाउने कार्यक्रम हुने गरेको छ भने कृष्णामी समुदालयले भगवान राधाकृष्णलाई सो झुलामा राखेर झुलाउने गर्छन । उत्सव अवधिभर जनकपुरधामका मठमन्दिरमा धार्मिक अनुष्ठानसँगै भजन किर्तन सहितका सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिदै आएको छ ।
झुलनोत्सव अवधिभर कजरी र मलार गीतले जनकपुरधाम संगीतमय बनेको छ । झुलोनोत्सवका क्रममा विभिन्न मठमन्दिरबीच झुला सजावट, धार्मिक प्रस्तुति र सांस्कृतिक कार्यक्रमका माध्यमबाट स्वस्थ प्रतिस्पर्धासमेत देखिने गरेको छ । त्रेतायुगमा भगवान् राम र सीता सिंहासनमा बसेर झुलेको जनविश्वास अनुसार पौराणिक कालदेखि नै झुलनोत्सव मनाइँदै आएको महन्थ दासको भनाई रहेको छ ।
जानकी मन्दिरमा विशेष किसिमको तीनवटा सिंहासनमा राम सीताको मूर्ति राखी रेशम डोरीले तानेर सांझपख झुला झुलाउने परम्परा रहेको छ । यसले मिथिलाको मौलिक धार्मिक परम्परा, कला, संस्कृति र लोकजीवनलाई जीवन्त राख्न योगदान पु¥याउँदै आएको स्थानीय धार्मिक अगुवाहरूको भनाइ छ । जनकपुरधाममा झुलोनोत्सव सुरु भएसँगै मठमन्दिरहरूमा चहलपहल बढेको छ भने पर्वमा सहभागी हुन नेपाल तथा भारतका श्रद्धालु तथा दर्शनार्थीको आगमनसमेत बढ्न थालेको छ ।
जनकपुरधामको रत्नसागर, विहारकुण्ड, अग्निकुण्ड सहितका मठ मन्दिरमा आज साँझ देखि मध्यरातसम्म झुलनोत्सव चल्ने भएकाले विशेष भिडभाड रहने गरेका छन् । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने चलन प्रचलन रहेको छ । यसका लागि भाडामा नर्तकहरू आउनुका साथै भक्तजनहरू आफै आउने तथा नाच्ने गरेका छन् ।
त्रेतायुगमा भगवान् राम र सीताको शुभ विवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले आयोध्यावासीलाई उपहारस्वरुप दिएको सुनचाँदी तथा मणिको भारले अयोध्यामा पहाडनै बनेको थियो । सीताको सामु पहाडको महत्व नरहेको भन्दै सो समान लिन राजा दशरथले अस्वीकार गरेका थिए ।
जसलाई रंगभूमि मैदानमा राखिएको थियो । दशरथको व्यवहारले जनक दुःखी नहुन् भनेर मणि पर्वतमा राम सीताले उत्सव गरेका थिए । त्यसैको सम्झनामा मिथिला र अयोध्यामा यो उत्सव हुने गरेको रामायणमा वर्णित रहेको जानकारहरु बताउँछन् । जानकी मन्दिरमा भक्तजनको भिड रहे पनि जनकपुरधामका अन्य मठमन्दिर र झुला घरमा हुने उत्सव केवल औपचारिकतमा सीमति हुँदै गएका छन् ।
जनकपुर झुला घरले भोगेको बेवास्ता उदाहरण मात्रै हो । यहाँका प्रसिद्ध मन्दिर रत्न सागर, विहार कुण्ड, अग्नि कुण्डलगायतका झुलाघरहरू पनि सुनसान छन् । पहिले झुलनोत्सवमा मठमन्दिर श्रद्धालु भक्तजनहरूले अबेर रातिसम्म भरिभराउ हुन्थे । तर गुठी संस्थानको उदासीनता र अधिकांश मन्दिरहरू महन्थविहीन भएपछि झुलनोत्सवको चहलपहलमा कमी आएको छ ।
गाउँगाउँबाट झुला हेर्न आउने मानिसको पहिले जनकपुरमा भिड हुन्थ्यो । तर यसपटक वर्षा नहुदाँ धान रोप्न नसकेको पिडामा डुबेका किसान जनकपुर आएका छैनन् । झुलनोत्सवले जनकपुरधामको ऐतिहासिकतालाई जोगाएको छ । तर यसको गरिमा जोगाउन सरोकारवाला सबै गम्भीर हुन जरुरी छ ।

