२०८३ भाद्र १, सोमबार ०६:३६

तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबीच भएको एकीकरणपछि पार्टीको नयाँ तथा एकीकृत सांगठनिक संरचना घोषणा गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा गठित जसपा नेपाल २७९ सदस्यीय केन्द्रीय कार्यसमितिमा शरत्सिंह भण्डारीलाई सह– अध्यक्ष तथा डा. सुरेन्द्रकुमार झा, लालबाबु राउत र प्रकाश अधिकारीलाई महासचिवको जिम्मेवारी दिइएको छ । पार्टीले जारी गरेको विज्ञप्ति अनुसार लामो समयदेखि विभाजित अवस्थामा रहेका मधेश केन्द्रित दुई प्रमुख राजनीतिक शक्ति औपचारिक रूपमा एकीकृत भएपछि नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको छ ।

पार्टी विधानको धारा ८७ को उपधारा (२) बमोजिम दुवै दलका केन्द्रीय समितिलाई समायोजन गरी नयाँ संरचना तयार पारिएको जसपाले जनाएको छ । नयाँ संरचनालाई समावेशी बनाउने उद्देश्यले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत र युवाको प्रतिनिधित्व ४० प्रतिशत कायम हुने गरी केन्द्रीय समितिको संख्या निर्धारण गरिएको छ ।

पार्टी विधानको धारा १३० अनुसार मुख्य पदाधिकारीहरूको वरियताक्रम निर्धारण गरेपछि बाँकी सदस्यहरूको नाम भने वर्णानुक्रम अर्थात् कखराका आधारमा राखिएको पार्टीले स्पष्ट पारेको छ । एकीकृत जसपाको नयाँ संरचनामा विगतमा पार्टीको नेतृत्व तहमा रहेका वरिष्ठ नेताहरूलाई पनि महत्वपूर्ण जिम्मेवारी दिइएको छ । जसअनुसार महन्थ ठाकुरलाई पार्टीको संरक्षक बनाइएको छ भने रकम चेम्जोङलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ ।

त्यस्तै पार्टीको नीति निर्माण तथा संगठन सञ्चालनमा नेतृत्वलाई सहयोग पु¥याउने उद्देश्यले सातजना उपाध्यक्ष चयन गरिएको छ । उपाध्यक्षहरुमा उमाकान्त झा, गोविन्द चौधरी, जीतेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणु कुमारी यादव रहेका छन् । महासचिवहरूलाई सांगठनिक काममा सहयोग गर्न सातजना उपमहासचिव चयन गरिएको छ ।
उपमहासचिवमा जैनुल राइन, दीपक कार्की, रामप्रकाश चौधरी, रानी कुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लिला देवी सिटौला रहेका छन् । सचिवतर्फ अर्जुन थापा, उमेश यादव, अनिलकुमार सिंह, उपेन्द्र महतो, कमरुद्दीन राई, मिना चौधरी, रामप्रवेश बैठा, लाक्पा शेर्पा, शैलेन्द्रप्रसाद साह, सुनी लामा र सुरेश मण्डललाई जिम्मेवारी दिइएको छ । त्यस्तै, सुरिताकुमारी साहलाई कोषाध्यक्ष बनाइएको छ ।

त्यस्तै जसपा नेपालले पार्टीको महत्वपूर्ण राजनीतिक तथा सांगठनिक निर्णय गर्ने तहमा कार्यकारिणी समिति पनि गठन गरेको छ । विज्ञप्ति अनुसार अशेश्वर यादव, अम्बिका काफ्ले, अनिरुद्वप्रसाद सिंह यादव र अमरकान्त झासहित २९ जना नेताहरू कार्यकारिणी समितिमा समेटिएका छन् । त्यसैगरी अञ्जना शेर्पा, अरविन्द दास, अरुण सिंह मण्डल धानुकलगायत २१७ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।

यससंगै अध्यक्ष, वरिष्ठ नेतृत्व, पदाधिकारी, कार्यकारिणी समिति र केन्द्रीय सदस्यसहित २७९ सदस्यीय नयाँ केन्द्रीय संरचना तयार भएको छ । पार्टीले नयाँ संरचनामा देशका विभिन्न जिल्ला तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरिएको दाबी गरेको छ । महिला र युवाको सहभागितालाई निश्चित प्रतिशतमा सुनिश्चित गर्नु पनि यसै उद्देश्यको हिस्सा भएको बताइएको छ । विगतमा एउटै राजनीतिक धारबाट आएका जसपा नेपाल र लोसपा नेपाल दुई दलबीच लामो समयसम्म नेतृत्व, संगठन र राजनीतिक रणनीतिका विषयमा तीव्र मतभेद रहँदै आएको थियो ।

तत्कालीन जसपा नेपाल र लोसपा नेपालबीच औपचारिक रूपमा एकता भएको झण्डै एक वर्षको अन्तरालपछि दुवै पक्षले संगठनात्मक संरचनालाई एकीकृत स्वरूप दिएका छन् । यसअघि दुवै दलले एकअर्काको राजनीतिक भूमिकामाथि आलोचना गर्दै आएका थिए । मधेशको मुद्दा, नेतृत्वको प्रभाव, चुनावी रणनीति तथा पार्टी संगठनमा आफ्नो पकड बलियो बनाउने विषयमा उनीहरूबीच प्रतिस्पर्धा देखिँदै आएको थियो ।

विशेषगरी २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि दुवै दलका शीर्ष नेताहरूबीच सार्वजनिक रूपमा समेत आरोप– प्रत्यारोप र आलोचना हुने गरेको थियो । तर निर्वाचनमा मधेश केन्द्रित यी दलले समेत मधेशमै अपेक्षाकृत कमजोर परिणाम बेहोरेपछि राजनीतिक समीकरणमा परिवर्तनको अवस्था सिर्जना भएको देखिन्छ ।

निर्वाचन परिणामपछि मधेशको राजनीतिमा आफ्नो प्रभाव पुनःस्थापित गर्न मधेश केन्द्रित दलहरूबीच सहकार्य र एकताको आवश्यकता महसुस हुन थालेको थियो । त्यसैको परिणामस्वरूप विगतका मतभेद र विभाजनलाई पछाडि छाड्दै जसपा नेपाल र लोसपा नेपाल पुनः एउटै राजनीतिक छातामुनि आएका हुन् । नयाँ सांगठनिक संरचना घोषणा भएसंगै दुबै दलका सबै पुराना पदाधिकारीले भने स्थान पाउन सकेका छैनन् ।

तत्कालीन जसपा नेपालमा महत्वपूर्ण जिम्मेवारीमा रहेका कतिपय नेताहरू यसपटक नयाँ पदाधिकारी तथा कार्यसमितिमा अटाएका छैनन् ।
रामकुमार शर्मालगायतका केही पुराना नेताहरू नयाँ संरचनाको पदाधिकारीदेखि केन्द्रीय कार्यसमितिसम्म समेटिन नसकेको देखिएको छ ।

त्यस्तै, लोसपा नेपालका पनि केही प्रभावशाली तथा पुराना नेताहरू नयाँ कार्यसमितिबाट बाहिरिएका छन् ।

Comment


Related News

Latest News

Trending News