२०८३ भाद्र ३, बुधबार ०६:५२

दुई समुदायबीचको तनावका क्रममा सिराहामा मृत्यु भएका नाबालक १५ वर्षीय गणेश यादवको ज्यान प्रहरीकै गोलीबाट गएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

सरकारले सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठन गरेको छानबिन समितिले घटनास्थलका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका बयान, स्थानीयले खिचेका भिडियो तथा पोस्टमार्टम र ब्यालेस्टिक परीक्षणका आधारमा यादवलाई लागेको गोली प्रहरीतर्फबाट चलेको पुष्टि गरेको छ । समितिले घटनाका क्रममा पेस्तोल बोकेर परिचालन भएका सुरक्षाकर्मीमाथि कारबाही गर्नसमेत सिफारिस गरेको छ ।

यद्यपि, कुन अधिकारीलाई कस्तो प्रकृतिको कारबाही गर्ने भन्ने विषय प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गरिएको छैन । कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्जमा दुई समुदायबीच भएको झडप क्रमशः मधेश प्रदेशका विभिन्न जिल्लामा समेत फैलिएको थियो । त्यसै क्रममा साउन १४ गते सिराहामा तनाव उत्पन्न हुँदा गणेश यादवको मृत्यु भएको थियो । घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमध्ये कसको गोली लागेर यादवको मृत्यु भयो भन्ने विषय विवादित बनेको थियो ।

सुरक्षाकर्मीले त्यस दिन हवाई फायर भएको स्वीकार गरे पनि यादवलाई लागेको गोलीको जिम्मेवारी कसैले लिएका थिएनन् । छानबिनमा संलग्न एक अधिकारीले घटनास्थलका दृश्य प्रमाण र प्रत्यक्षदर्शीको बयानले प्रहरीतर्फबाट गोली चलेको देखाएको छ । पोस्टमार्टममा संलग्न चिकित्सकको राय तथा ब्यालेस्टिक परीक्षणले समेत यादवको मृत्यु पेस्तोलबाट प्रहार भएको गोलीका कारण भएको देखाएको समितिको निष्कर्ष छ ।

सो समितिमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञलाई समेत सहभागी गराएर गोलीको प्रकृति र स्रोतबारे परीक्षण गरिएको थियो । त्यसबाट घटनास्थलमा अन्यत्रबाट गोली चलेको प्रमाण नदेखिएको समितिका अधिकारीहरूको भनाइ छ । सिराहामा तनाव नियन्त्रणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी २० राउण्ड हवाई फायर गरेको बताइए पनि सुरक्षाकर्मीबाटै गोली चलेको हो वा होइन भन्ने विषयमा स्पष्टता नहुँदा घटनाको अनुसन्धान जटिल बनेको थियो । गोली प्रहारको जिम्मेवारी कसैले नलिएपछि सरकारले गठन गरेको छानबिन समितिले घटनाको प्राविधिक पक्षलाई समेत अनुसन्धानको दायरामा ल्याएको थियो ।

प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङले पनि घटनाबारे चासो देखाउँदै सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका थिए । गोली कसले चलाएको भन्ने विषयमा अन्योल देखिएपछि समितिमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा कार्यरत थप दुई अधिकारीलाई सहभागी गराइएको थियो । प्रहरी निरीक्षक दीपेश अवस्थी र प्रहरी उपरीक्षक मनोहरसिंह धामीलाई ब्यालेस्टिक तथा फरेन्सिक परीक्षणको जिम्मेवारी दिइएको थियो । यसअघि समितिमा नेपाल प्रहरीका एसपी मोहनकुमार थापा, सशस्त्र प्रहरीका एसपी नरेश भण्डारी, नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका डीएसपी पवनकुमार ढुंगाना तथा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याल सदस्य थिए ।

प्राविधिक परीक्षणसंगै घटनास्थलको भिडियो, सीसीटीभी, प्रत्यक्षदर्शीको बयान र अन्य उपलब्ध प्रमाणलाई अध्ययन गरेर समितिले निष्कर्ष निकालेको छ । छानबिन समितिका एक अधिकारीले घटनामा जिम्मेवारी लिएर बयान दिन सुरक्षाकर्मीहरू शुरुमा हिच्किचाउनुको एउटा कारण कारबाहीमा पर्ने डर पनि हुन सक्ने देखिएको छ । सो समितिले त्यस दिन पेस्तोल बोकेर परिचालन भएका अधिकारीहरूको भूमिकाबारे प्रश्न उठाउँदै आवश्यक कारबाही गर्न सिफारिस गरेको छ । गोली चलाउने क्रममा कमान्ड तथा परिचालनसम्बन्धी निर्णय कसरी भएको थियो भन्ने विषयलाई समेत समितिले गम्भीरतापूर्वक हेरेको बताइएको छ । छानबिन समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन भिड नियन्त्रणका क्रममा गैरघातक हतियारको प्रयोगलाई प्राथमिकता दिन सुझाव दिएको छ ।

सुनसरी र सिराहाका घटनाबारे अध्ययन गर्ने समितिले भिड नियन्त्रणमा घातक हतियार प्रयोग गर्नुभन्दा पहिले उपलब्ध गैरघातक विकल्पको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै, गोली चलाउने निर्णयको अधिकार फिल्ड कमान्डरलाई नै स्पष्ट रूपमा दिनुपर्ने सुझावसमेत दिइएको छ । हाल प्रमुख जिल्ला अधिकारीसंग अधिकार भए पनि उनीहरू फिल्डमा प्रत्यक्ष रूपमा नखटिँदा सुरक्षाकर्मी र प्रशासनबीच समन्वयमा समस्या देखिएको समितिको ठहर छ । समितिका एक सदस्यका अनुसार फिल्डमा परिचालित सुरक्षा निकायलाई नै निश्चित जिम्मेवारी र अधिकार दिएर जवाफदेही बनाउने व्यवस्था आवश्यक रहेको सुझाव प्रतिवेदनमा समेटिएको छ ।

सो प्रतिवेदनले भिड नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिम्मेवारीसमेत स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने औँल्याएको छ । मधेशमा तनाव चर्किनुअघि साउन १० गते राति सुनसरीको देवानगञ्ज–४ मा दुई समुदायबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि प्रहरी टोली पछि हटेको बताइएको थियो ।

त्यसपछि पुगेको सशस्त्र प्रहरीको टोलीले २० राउण्ड फायर गरेको थियो । उक्त घटनामा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने नौ जना स्थानीय घाइते भएका थिए। उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको थियो ।

सुनसरीको घटनामा सुरक्षाकर्मीबाट भएको गोली प्रहार र त्यसपछि भएको जनधनको क्षतिले मधेशका विभिन्न क्षेत्रमा आक्रोश बढाएको थियो ।

Comment


Related News

Latest News

Trending News