भारतको बिहारस्थित मोतिहारी जिल्लाको सुगौलीमा गाँजासहित एक नेपाली युवक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत सुगौली प्रहरीले बारा जिल्लाका एक युवकलाई ७५० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जितपुर उपमहानगरपालिका–१ निवासी राजन मुखिया रहेका छन्। उनी रमाकान्त मुखियाका छोरा हुन्।
सुगौली थानाका प्रभारी अनिश कुमार सिंहका अनुसार मंगलवार प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले विशेष निगरानी बढाएको थियो। सोही क्रममा शंकास्पद गतिविधिमा रहेका राजनलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनको साथबाट ७५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गाँजा नियन्त्रणमा लिँदै पक्राउ परेका युवकविरुद्ध भारतीय कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
नेपालबाट भारतसम्म गाँजा, सीमामा सुरक्षा निगरानीमाथि प्रश्न
बारा जिल्लाको जितपुरबाट गाँजा बोकेर हिँडेका नेपाली युवक भारतीय भूमिमा करिब ३५ किलोमिटरभित्र पुगेर पक्राउ परेपछि सीमावर्ती क्षेत्रमा हुने लागुऔषध ओसारपसार नियन्त्रणमा नेपाली सुरक्षा संयन्त्रको निगरानीमाथि प्रश्न उठेको छ।
नेपाल–भारतबीच खुला सीमा रहेकाले सीमाबाट हुने अवैध गतिविधि नियन्त्रण सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ। नेपाली भूमिबाट गाँजा बोकेर भारतीय क्षेत्रमा प्रवेश गरी लामो दूरी पार गरेपछि मात्रै पक्राउ पर्नुले सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच र निगरानी कति प्रभावकारी छ भन्ने प्रश्नसमेत खडा गरेको छ।
यद्यपि, भारतीय भूमिमा भएको उक्त पक्राउलाई आधार बनाएर नेपाली सुरक्षाकर्मीको प्रत्यक्ष संलग्नता तथा कमजोरी पुष्टि भएको निष्कर्ष निकाल्न मिल्दैन। तर, यस्ता घटनाले सीमा नाकादेखि भित्री क्षेत्रमा समेत लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी थप कडा र समन्वयात्मक बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
नेपालबाट भारततर्फ हुने गाँजा तथा अन्य लागुऔषधको अवैध ओसारपसार रोक्न दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान र संयुक्त निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

