२०८३ भाद्र ४, बिहीबार ०६:४५

मधेश प्रदेशमा बलात्कार घटना निकै बढेको छ । खासगरी बालबालिका नै बढी शिकार हुने गरेको पछिल्लो तथ्यांक र घटनाले देखाउँछ । बालिकाहरुलाई ललाई फकाई बलात्कार गरी हत्या गर्ने क्रम पनि बढेको बाराको जितपुर सिमरा उपमहानगरपालिकामा घटनाले देखाउंछ ।

जितपुर सिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित आफ्नै घरबाट साउन ३१ गतेदेखि हराएकी नर्सरीमा अध्ययनरत चार वर्षीया गरिमा चौधरी मंगलबार खाली घरमा कपडाको पोकोमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार बालिकाको शव घरदेखि करिब दुई सय मिटर टाढा रहेको एउटा खाली घरमा फेला परेको हो । उनको हत्या आरोपमा बारा प्रहरीले बालिका खोज्ने प्रहरीसँगै खटिएका सुमन थापा र उनका सहकर्मी प्रोग्रेस चौधरीलाई पक्राउ गरेका छन् ।

शव फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान अघि बढाइएको थियो । प्रहरीका अनुसार सुमनले बालिकामाथि बलात्कार गरी हत्या गरेको स्वीकार गरेका छन् । यद्यपि, घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुमन वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन् ।

उनले काम गर्ने ना.१ ज ७७५८ नम्बरको गाडीका चालक प्रोग्रेस चौधरीलाई पनि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । प्रहरीले घटनामा सुमनको मात्रै संलग्नता रहेको प्रारम्भिक बयानबाट खुलेको जनाएको छ । बालिका बेपत्ता भएपछि परिवार र स्थानीयले खोजी गरिरहेका थिए । पछि गाउँकै एक खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी गर्दा बालिकाको शव फेला पारेको हो । प्रारम्भिक अनुसन्धानबाट बालिकालाई जितपुरसिमरा–२ बस्ने भीमसेन थापाका करिब १६ वर्षीय छोरा सुमन थापाले चकलेट दिएर ललाई–फकाई घटनास्थलमा लगेको बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
हत्याको विरोधमा प्रदर्शन
बालिकाको हत्या विरोधमा स्थानीयले बुधबार सिमरामा प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय सिमरा अगाडि भेला भएका प्रदर्शनकारीले घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा स्थानीयले वीरगञ्ज– पथलैया सडकखण्डसमेत अवरुद्ध गरेका छन् । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा सजाय दिनुपर्ने उनीहरूको माग छ । प्रहरीले भने पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीको भूमिकामाथि प्रश्न
गरिमाको घटनालाई लिएर प्रतिनिधिसभामा सांसदहरूले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सांसद रहबर अन्सारीले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि पनि लामो समयसम्म खोजी तथा अनुसन्धानमा प्रभावकारी कदम नचालेको आरोप लगाएका छन । उनका अनुसार बालिका हराएको सूचना दिएको २४ घण्टासम्म इलाका प्रहरी कार्यालय सिमराबाट प्रभावकारी खोजी वा कारबाही अघि बढ्न नसकेको देखिएको छ । उनले घटनामा प्रहरी प्रशासनको कमजोरी भएको प्रश्न उठाउंदै प्रहरीविरुद्ध छानबिनको माग गरे ।
१०१ बालिका बलात्कृत
देशभरमा वर्षेणी एक हजारदेखि डेढ हजारसम्म हुने बलात्कार र यौनजन्य हिँसा घटना मध्ये झण्डै एक तिहाई मधेश प्रदेशकै रहेको छ । मध्ये मधेश प्रदेशमा कुल २२४ बलात्कारको घटना मध्ये १ सय १ जना बालिका नै रहेको छ । इन्सेकद्वारा प्रकाशित मानवअधिकार वर्ष २०२६ को तथ्यांक अनुसार वर्ष २०२५ मा २२४ बलात्कारको घटना भएको छ भने यी मध्ये मध्ये १७ वटा सामूहिक बलात्कारको घटना रहेको छ ।

बलात्कार प्रयासको घटना मात्रै ७३ वटा रहेको छ । यौनजन्य हिंँसाको घटना ७३ वटा रहेको जसमध्ये बालबालिका मात्रै ५९ जना रहेको सो तथ्यांकले देखाउंछ । वर्ष २०२५ मा सबभन्दा बढी बलात्कारको घटना धनुषा जिल्लामा भएको हो तथ्यांक अनुसार धनुषामा बालिका १२ महिला ५८ गरी ७० वटा बलात्कारको घटना भएको हो । बलात्कार प्रयासको घटना धनुषामा ४३ वटा रहेको छ ।

सप्तरीमा ८ वटा बलात्कार घटना मध्ये सबै बालिका नै हुन् । सिरहामा ३२ घटना मध्ये बालिकाको १५ र महिलाको १५ रहेको छ भने महोत्तरीमा ३१ घटना मध्ये १५ बालिका र १६ महिला रहेका छन् । यस्तै सर्लाहीमा ३१ वटा बलात्कार घटना भएको जसमध्ये २४ बालिका नै रहेको छ भने रौतहटको ९ घटनामा ३ बालिका र ६ महिला, बारामा १६ मध्ये ९ बालिका पिडित भएकी छिन् ।

पर्सामा २७ घटना मध्ये १५ वटा बालिका बलात्कृत भएको तथ्यांकमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News