२०८३ भाद्र ४, बिहीबार ०७:५४

रौतहटको फतुवा बिजयपुर नगरपालिका ६ पेटभरवा गाउँको नाम परिवर्तन गरी ‘यदुबंशी नगर’ राख्ने विषयमा विवाद बढिरहेका बेला उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश जारी गरेको छ। अदालतको आदेशसँगै तत्कालका लागि नयाँ नाम कार्यान्वयन नगरी पुरानै नाम पेटभर्वा कायम राख्नुपर्ने भएको छ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको संयुक्त इजलास नम्बर ३ ले रामनाथ राय यादवसमेतले जिल्ला प्रशासन कार्यालय रौतहट गौरसमेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणरपरमादेशसम्बन्धी रिट निवेदनमा यस्तो आदेश दिएको हो।

न्यायाधीशद्वय रेखा थापा पाण्डे र अस्मिन कुमार राईको संयुक्त इजलासले निवेदनमाथि सुनुवाइ गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म विवादित विषयमा यथास्थिति कायम राख्न आदेश दिएको हो।

अदालतको आदेशमा रिट निवेदनको विषयसँग सम्बन्धित समान प्रकृतिको विषय सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको उल्लेख गर्दै संवैधानिक तथा कानुनी आधार स्पष्ट हुन आवश्यक देखिएको भनिएको छ।

अदालतले सम्बन्धित वडा कार्यालयले विवादित विषयका कारण आफ्नो दैनिक कामकारबाही सञ्चालन गर्न नसक्दा आम सरोकारवाला सेवाग्राहीलाई प्रत्यक्ष क्षति पुग्न सक्ने अवस्था देखिएको भन्दै अन्तरिम संरक्षण प्रदान गरेको हो।

अदालतले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म विपक्षीहरूका नाममा आदेश दिएको छ।

यस आदेशको व्यावहारिक अर्थमा पेटभर्वा को पुरानो अवस्था तत्काल कायम रहनेछ र ‘यदुबंशीनगर’ नाम कार्यान्वयन गर्ने प्रक्रिया अहिलेका लागि अघि बढाउन पाइने छैन।

तर अदालतले यो विषयमा कसैको पक्षमा अन्तिम फैसला भने गरिसकेको छैन। यो अन्तरिम आदेश मात्र हो। मुद्दाको अन्तिम सुनुवाइपछि अदालतले पेटभरवा नाम कायम रहने वा नयाँ नाम ‘यदुबंशी नगर’ लागू हुने विषयमा अन्तिम कानुनी निर्णय गर्नेछ।

अदालतले विपक्षीहरूलाई आदेशको जानकारी गराई नियमअनुसार पेश गर्नसमेत आदेश दिएको छ।

यससँगै पेटभरवा नाम परिवर्तनसम्बन्धी विवादमा तत्कालका लागि नयाँ नाम लागू गर्ने बाटो रोकिएको छ भने स्थानीयस्तरमा “अन्तिम फैसला नआएसम्म पुरानै अवस्था कायम राख्ने” अदालतको स्पष्ट सन्देश गएको छ।

Comment


Related News

Latest News

Trending News