२०८३ भाद्र ५, शुक्रबार १६:५०

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि ६ सदस्यीय समिति गठन गरेको छ ।

सरकारी तथा सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा मर्मत–सम्भारलाई व्यवस्थित गर्न स्थापन गर्न लागिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको नीतिगत मार्गदर्शन तथा सुपरिवेक्षणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय मामिला हेर्ने सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले केन्द्रमा १ जना कार्यकारी निर्देशकसहित ३० जना स्थायी कर्मचारी तथा आवश्यकता अनुसार थप विज्ञहरू परिचालन गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

त्यस्तै यस साता नागरिकले तत्काल अनुभूति गर्न सक्ने खालका ६५ वटा कार्यक्रम सञ्चालन गर्न सबै मन्त्रालयहरूलाई अवधारणा पत्रको मस्यौदा पठाइएको उहाले जानकारी दिनुभयो । त्यस्तै विभिन्न ७ वटा अनुसन्धान प्रतिवेदनहरू पुनरावलोकन तथा सिफारिस समितिमा पठाइएको उहाले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको नीति अनुसन्धान प्रतिष्ठानले नेपालको सार्वजनिक नीति निर्माण प्रक्रियालाई तथ्यपरक र प्रमाणमा आधारित बनाउने दिशामा आफ्नो सक्रियतालाई तीव्रता दिएको प्रवक्ता अर्यालले बताउनुभयो ।

प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको साउन १६ देखि ३१ गतेसम्मको पाक्षिक कार्यप्रगति विवरणअनुसार त्यहाँ तयार भएका ८ वटा प्रतिवेदनहरूलाई विज्ञ तथा आन्तरिक समीक्षाका लागि पठाएको उहाले बताउनुभयो । साथै प्रवक्ता अर्यालले प्रधानमन्त्रीको मुस्ताङ भ्रमण नितान्त निजि भएको जानकारी दिनुयो ।

Comment


Related News

Latest News

Trending News