मधेश प्रदेशमा जापानी इन्सेफलाइटिस (जेई) संक्रमणको जोखिम बढ्दै गएको छ । सप्तरी र पर्सामा संक्रमण पुष्टि हुनुका साथै उपचारका क्रममा संक्रमितको मृत्यु भएपछि प्रदेशमा रोगको जोखिम थप गम्भीर बनेको छ ।
पछिल्लो डेढ महिनामा नेपालभर जेई संक्रमणबाट कम्तीमा २१ जनाको मृत्यु भएको र ५९ जना संक्रमित भएको तथ्यांकले पनि यसको फैलावट चिन्ताजनक रहेको देखाएको छ । मधेश प्रदेशमा मात्रै १९ जना संक्रमित भएको र ६ जनाको मृत्यु भएको स्वास्थ्यसम्बन्धी तथ्यांकमा उल्लेख रहेको छ । सप्तरीमा पुष्टि भएका ६ संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने पर्सामा दुई जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ ।
केही साताअघि मधेश प्रदेशकै अर्को जिल्लामा समेत जेई संक्रमित भेटिएको थियो । उपचारका क्रममा मृत्यु भएका सप्तरीका दुई जनामा जापानी इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ नर्घोका १४ वर्षीय शिवकुमार रामको उपचारका क्रममा गत असार २० गते मृत्यु भएको छ । यादवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र रामको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको थियो ।
उनीहरूको मेरुदण्डको तरलता (सीएसएफ) परीक्षणका लागि पठाइएको नमुनाबाट जेई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत वीरेन्द्रप्रसाद साहले जानकारी दिए । साहले दिएको जानकारी अनुसार सप्तरीमा यसअघि थप तीन जनामा पनि जेई संक्रमण पुष्टि भएको थियो। डाक्नेश्वरी नगरपालिकाका दुई जना र महादेवा गाउँपालिकाका एक जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये एक महिला पनि रहेको उनले बताए।
उनीहरू उपचारपछि निको भएर घर फर्किसकेका छन् । डाक्नेश्वरीका एक संक्रमितको गोल्डेन अस्पताल र अर्काको कोशी अस्पताल विराटनगरमा उपचार भएको थियो भने महादेवाका संक्रमितको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार गरिएको थियो । संक्रमण पुष्टि भएका स्थानमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली पुगेर स्थलगत अनुगमन गरेको साहले बताए । उनले हाल थप नयाँ संक्रमित नभेटिएको बताए । वर्षायाममा लामखुट्टेको प्रजनन बढ्ने भएकाले घरवरिपरि पानी जम्न नदिन तथा लामखुट्टेको टोकाइबाट बच्न उनले आग्रह गरेका छन् ।
पर्सामा दुई जनामा जेई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक जनाको काठमाण्डुमा उपचारका क्रममा गत साता मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका सूचना अधिकृत जयमोद ठाकुरले जानकारी दिए । अर्का संक्रमितको वीरगञ्जमै उपचार भइरहेको छ । पर्सामा १४ जना शंकास्पद बिरामीको परीक्षण गरिएकोमा दुई जनामा जेई पुष्टि भएको छ । तीमध्ये एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ठाकुरले जेई संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग भएको बताए । विशेषगरी क्युलेक्स जातका लामखुट्टेले संक्रमित सुँगुर तथा पानीमा बस्ने चराचुरुंगीबाट भाइरस लिएर मानिसलाई टोक्दा संक्रमण हुन सक्छ ।
मानिसबाट मानिसमा भने सामान्यतया यो रोग सर्दैन । जेई संक्रमण गम्भीर हुँदा उच्च ज्वरो, टाउको दुख्ने, बान्ता हुने, घाँटी अररो हुने, बेहोस हुने, कम्पन तथा झट् का आउनेजस्ता लक्षण देखिन सक्छन् । गम्भीर संक्रमण भएका बिरामीमा मृत्युको जोखिम उच्च हुने र बाँचेकामध्ये केहीमा दीर्घकालीन स्नायु तथा शारीरिक समस्या देखिन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । सप्तरी र पर्सासँगै धनुषामा समेत जेई संक्रमणका बिरामी भेटिएका छन् । मधेश प्रदेशका विभिन्न जिल्लामा संक्रमण देखिएपछि जोखिमयुक्त क्षेत्रमा निगरानी, परीक्षण र रोकथामका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
विशेषगरी नियमित खोपबाट छुटेका बालबालिका तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै खोपको पहुँचमा ल्याउनुपर्ने देखिएको छ । पछिल्ला तथ्यांकले जेई बालबालिकामा मात्र सीमित नरहेको र वयस्कसमेत यसको जोखिममा रहेको देखाएको छ । यस वर्ष नेपालमा जेई संक्रमणको मृत्यु दर करिब २५ प्रतिशत पुगेको स्वास्थ्यसम्बन्धी तथ्यांकले देखाएको छ। झापामा पुष्टि भएका १० संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । पर्सा, नवलपरासी र इलाममा पनि संक्रमितको मृत्यु भएको छ । कैलाली, मोरङ, सुनसरी, दाङ र धनुषालगायत जिल्लामा समेत संक्रमण पुष्टि भएको छ ।
गत वर्ष जेईबाट मृत्यु भएकामध्ये ठूलो हिस्सा ४० वर्षभन्दा माथिका व्यक्तिको थियो भने संक्रमितमध्ये १५ वर्षभन्दा माथिका मानिसको संख्या पनि उल्लेख्य थियो । त्यसैले संक्रमण बढी देखिएका मधेशका जिल्लालाई केन्द्रमा राखेर वयस्कका लागि समेत खोप अभियान सञ्चालन गर्ने सम्भावनाबारे सरकारले अध्ययन र छलफल अघि बढाउनुपर्ने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।

