२०८३ भाद्र ७, आईतवार ०७:२३

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका ऐतिहासिक पोखरी, पोखरीका डिल तथा गुठी जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालिएको छ । गुठी संस्थान तथा गुठी जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित समितिले पहिलो चरणमा पोखरीका डिलमा अनधिकृत रूपमा निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना हटाउन शनिबारदेखि डोजर परिचालन गरेको छ ।

सो क्रममा पोखरीको डिलमा बनाइएको घर टहराहरु डोजर लगाएर भत्काइएको छ । तर सोही डिल अवस्थित पक्की महलमा भने डोजर नचलाइएको भन्दै स्थानीयले आक्रोशसमेत पोखेका छन् । अभियानको सुरुवात जनकपुरधामस्थित गिरनारी कुट्टी छेउमा रहेको गोरधोइ पोखरीको अतिक्रमित डिलबाट गरिएको छ । लामो समयदेखि पोखरीका डिल तथा आसपासको गुठी जग्गा कब्जा गरी विभिन्न संरचना निर्माण गरिँदै आएको भन्दै संस्थानले त्यस्ता संरचना हटाउने प्रक्रिया अघि बढाएको छ ।

पहिलो चरण अन्तर्गत शनिबार सात वटा पोखरीका डिलमा रहेका अतिक्रमित संरचना हटाइएको गुठी संस्थान जनकपुरले जनाएको छ । अतिक्रमण हटाउनुअघि सम्बन्धित व्यक्ति तथा संरचना धनीलाई सार्वजनिक सूचना जारी गरिएको थियो । संस्थानले जनाए अनुसार गत १ साउनमा सूचना प्रकाशित गरी अनधिकृत रूपमा कब्जा गरिएका गुठी जग्गा तथा पोखरीका डिल खाली गर्न आग्रह गरिएको थियो । त्यसपछि शुक्रबार जनकपुरधाम नगर क्षेत्रमा माइकिङ गर्दै अतिक्रमित संरचना हटाउन अन्तिम जानकारीसमेत गराइएको थियो ।

तर तोकिएको समयभित्र संरचना नहटाइएपछि डोजर प्रयोग गरी अतिक्रमण हटाउने काम सुरु गरिएको गुठी संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए । उनले पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध रूपमा अघि बढाइने बताए । अभियान अन्तर्गत गोरधोइ पोखरीपछि विशहारा पोखरी, दशरथ तलाउ, अर्गजा सर, रत्न सागर, मुरली सर र दीर्घिका सरलगायत पोखरीका डिलमा रहेका अनधिकृत संरचना हटाइएको छ ।

सम्बन्धित समितिले यस अघि मन्दिर परिसर, पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण क्षेत्र रेखांकन गरी सम्बन्धित व्यक्तिलाई स्वेच्छाले जग्गा खाली गर्न सूचना दिएको थियो । अन्य गुठी जग्गामा घरटहरा निर्माण गरी बसोबास गरिरहेका व्यक्तिका हकमा पनि क्षेत्र रेखाङ्कन गरी तोकिएको समयभित्र अतिक्रमण हटाउन आग्रह गरिएको थियो । समितिले जनाए अनुसार पोखरीका डिल खाली गराउने क्रममा कच्ची तथा पक्की दुवै प्रकारका संरचना हटाइनेछन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले अहिलेसम्म ३० वटा पोखरीको नापी सम्पन्न भइसकेको भन्दै अन्य बाँकी पोखरीको नापी तथा रेखांकनको काम पनि चाँडै पूरा गर्ने तयारी भइरहेको बताए । अतिक्रमण हटाउने अभियान पोखरीका डिलमा मात्र सीमित नरहने संकेत पनि स्थानीय तह र गुठी संस्थानले गरेका छन् । पोखरी संरक्षणको पहिलो चरणको काम सम्पन्न भएपछि राजगुठीअन्तर्गतका अन्य अतिक्रमित जग्गा पनि क्रमशः खाली गराउने तयारी रहेको उनले बताए ।

जनकपुरधाममा रहेका ऐतिहासिक पोखरी तथा मठ– मन्दिरसंग जोडिएको गुठी सम्पत्तिको संरक्षणलाई दीर्घकालीन रूपमा अघि बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको कथन छ । गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने अभियान अन्तर्गत ‘उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समिति’ को योजना अनुसार अघि बढाइएको छ ।

सरकारले गुठी जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न समयमा तयार गरेका प्रतिवेदन तथा सुझाव कार्यान्वयन गर्ने उद्देश्यले सम्बन्धित निकायबीच समन्वय गरेर अभियान अघि बढाइएको जनाइएको छ । यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसमेतको पहलमा बृहत्तर जनकपुर क्षेत्रभित्र रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन ११ सदस्यीय टोली गठन गरिएको थियो ।

टोलीको संयोजकमा गुठी प्रशासक शैलेशराज कुँवर रहेका छन् । टोलीमा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रतिनिधि, जिल्ला समन्वय समिति धनुषा, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, भूमि प्रशासन कार्यालय धनुषा, नापी कार्यालय धनुषा, गुठी संस्थान शाखा कार्यालय धनुषा, जनकपुरधाम उपमहानगरपालिका तथा मधेश प्रदेश सरकारका सम्बन्धित मन्त्रालयका प्रतिनिधि सहभागी छन् । अतिक्रमण हटाउने अभियान थालिएपछि जनकपुरधामका कतिपय स्थानीयमा भने अन्योल र त्रास देखिएको छ ।

Comment


Related News

Latest News

Trending News