२०८३ भाद्र ७, आईतवार १४:०७

बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल सकुशल भेटिएकी छन्। स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझदेखि घरैबाट बेपत्ता भएकी थिइन्।

उनलाई आइतबार बिहान कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा एक स्थानीय महिलाले फेला पारेकी हुन्।

फेला परेलगत्तै ती महिलाले बालिकालाई नालाबाट उद्धार गरी आफ्नो घरमा लगेर हेरचाह गरेकी थिइन्। पछि प्रहरीको समन्वयमा बालिकालाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शनिबार साँझ बालिका हराएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको नेतृत्वमा रहेको सुरक्षा निकायको टोलीले रातभर तीव्र खोजी अभियान चलाएको थियो।

खोजी कार्यलाई प्रभावकारी बनाउन तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो। उक्त खोजी अभियानमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सहयोग गरेका थिए। सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयास तथा स्थानीयको सजगताका कारण बालिकालाई समयमै सकुशल फेला पार्न सफल भएको प्रहरीले जनाएको छ।

Comment

Related News

Latest News

Trending News