१४औँ संस्करणको दक्षिण एशियाली खेलकुद (साग) को फेरि नयाँ मिति तय भएको छ ।
पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एशियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४औँ साग आउँदो चैत २० देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकमा नेपालको तर्फबाट ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी थिए ।
यस्तै सागमा २८ वटा खेल समावेश गर्ने निर्णय भएको छ । सागका ७ वटा देशले भाग लिने प्रतियोगिताको खेलहरू पाकिस्तानको लाहोर, इस्लामाबाद र फैसलाबादामा हुनेछन् ।
यसअघि सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औँ सागपछि आउँदो प्रतियोगिता आयोजना गर्न पाकिस्तानले झण्डा पाएको थियो । त्यति बेला सन् २०२१ मा प्रतियोगिता आयोजना हुने भनिए पनि बारम्बार सर्दै आएको छ ।

