२०८३ भाद्र ८, सोमबार ०७:१४

केही दिन अघि बारामा तीन वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी शव बेवारिसे अवस्थामा बरामद भएको थियो । सो घटना सार्वजनिक भएपछि बारामै दुई वर्षीया बालिका बेपत्ता भयो । तर प्रहरीको सक्रियतामा सकुशल फेलासमेत प¥यो ।

यसैबीच सप्तरीमा एक आमाले छोरीको ज्यान लिएको घटना सार्वजनिक भयो । बालबालिका हराउने, बेपत्ता हुने र हत्या हुने घटनाको शृंखला सार्वजनिक भइरहेका बेला सप्तरीमा दुई वर्षीया बालिकाको हत्या भएको घटना सार्वजनिक भएको छ । शम्भुनाथ नगरपालिका–३ की दुई वर्षीया खुशी खातुन घरबाट हराएको करिब दुई घण्टापछि घर पछाडिको झाडीमा मृत भेटिएकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले आफ्नै सौतेनी आमाले बालिकाको हत्या गरेको देखाएको छ ।

हत्याको आरोपमा प्रहरीले १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरेको छ । उनी मृतक बालिकाका बुवाकी कान्छी पत्नी हुन् । सप्तरीका प्रहरी प्रमुख रूपक खड्काले घटनामा मुस्कानको संलग्नता देखिएको जानकारी दिए । बालिकाको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राखिएको छ ।

सप्तरी प्रहरीले जनाए अनुसार बालिकाको शरीरमा बाहिरबाट देखिने घाउचोट छैन । प्रारम्भिक अनुसन्धानमा घटनामा एक जनाको मात्र संलग्नता देखिएको प्रहरीको भनाइ छ । यद्यपि हत्या कसरी भएको हो भन्ने विषय पोस्टमार्टम तथा थप अनुसन्धानबाट खुल्नेछ । घटनाको पृष्ठभूमिमा पारिवारिक विवाद रहेको स्थानीयले बताएका छन् ।

मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका लागि कतारमा छन् । उनकी जेठी पत्नी र दुई वर्षीया छोरी पुख्र्यौली घरमा बस्दै आएका थिए भने कान्छी पत्नी मुस्कान सोही ठाउँनजिकै डेरा लिएर बस्दै आएकी थिइन् । शनिबार दुई पत्नीबीच सौता लाग्न आएको विषयमा विवाद भएको र सम्पत्तिको हकदार को हुने भन्ने विषयमा समेत मतभेद रहेको स्थानीय बताउँछन् ।

बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजतलास थालेको थियो । केही समयमै घर पछाडिको झाडीमा उनको शव फेला परेको छ । सो घटनापछि आक्रोशित स्थानीयले हत्याको विरोधमा आइतबार केही समय रुपनी बजार बन्द गराएका थिए । राजमार्गसमेत अवरुद्ध गरिएकोमा अहिले बजार र सडकको अवरोध हटाइएको प्रहरीले जनाएको छ ।

यस घटनाले बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको पीडा सेलाउन नपाउँदै सार्वजनिक भएको छ । साउन ३१ देखि हराएकी गरिमा भदौ २ गते मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरी अनुसन्धानअनुसार उनलाई चकलेट दिएर फकाई घटनास्थलमा लगेर बलात्कारपछि हत्या गरिएको प्रारम्भिक निष्कर्ष छ । गरिमा हत्याको घटनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरी पक्राउ परेका छन् ।

बारा प्रहरीले जनाए अनुसार थापा घटनामा प्रयोग भएको म्याजिकका सहचालक हुन् भने चौधरी उक्त सवार ीसाधनका धनी हुन् । सो घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानमाथि समेत प्रश्न उठेपछि स्थानीयस्तरमा व्यापक विरोध प्रदर्शन भएको थियो । बालिका हराएको सूचना पाएपछि पनि प्रहरीले प्रभावकारी खोजतलास नगरेको आरोप लगाउँदै स्थानीयले प्रदर्शन गरेपछि इलाका प्रहरी कार्यालय सिमराका तत्कालीन डीएसपी दिलीप क्षेत्रीलाई हटाइएको थियो । उनको स्थानमा डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ ।

गरिमाको हत्यापछि न्यायको माग गर्दै बारासहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन चर्किएको थियो । लामो समय सडक अवरुद्ध भएपछि पीडित परिवार र सरकारबीच गृह मन्त्रालयमा भएको मन्त्रीस्तरीय छलफलमा सहमति जुटेको छ । सहमति अनुसार सिमरामा गरिमाको सालिक निर्माणका लागि पहल गर्ने तथा बालबालिकाको सुरक्षा र न्याय सुनिश्चित गर्न आवश्यक कानुन संशोधनबारे सुझावसहित प्रतिवेदन दिन ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने सहमति भएको छ ।

सहमतिपछि अवरुद्ध सडक खुलेको र बालिकाको शवको दाहसंस्कार गरिएको थियो । गरिमा घटनाको अनुसन्धान र त्यसपछि भएको आन्दोलनले बालबालिकाको सुरक्षा, प्रहरीको खोजतलास प्रणाली र अपराध अनुसन्धानको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको अवस्थामा सप्तरीको खुशी हत्याले अर्को चिन्ता थपेको छ ।

एउटै अवधिमा साना बालबालिका हराउने, मृत भेटिने तथा उनीहरूमाथि जघन्य अपराध हुने घटना सार्वजनिक हुनुले बालबालिकाको सुरक्षाका लागि परिवार, समुदाय, प्रहरी प्रशासन र राज्यका संयन्त्र थप संवेदनशील र जवाफदेही बन्नुपर्ने आवश्यकता रहेको मावनअधिकारकर्मी वीरेन्द्र कर्णले बताए ।

Comment


Related News