नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले गरिमा चौधरीको परिवारसँग सरकारले गरेको सम्झौतामाथि प्रश्न उठाउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले एउटा अबोध बालिकाको जीवनको मोल सहमति पत्रले नहुने बताउनुभयो। घटना घटेपछि सडक तातिने र सरकारले पीडित परिवारलाई काठमाडौं बोलाएर सहमति गरी घटनालाई सामसुम पार्ने खेल खेल्ने गरेको आरोप लगाउँनुभयो ।
यता सत्तारुढ रास्वपाका महामन्त्री एवं सांसद विपीन आचार्यले गृह मन्त्रालयमा गरिमा चौधरीका आमाबुबाको भिडियो खिचिएकोप्रति आपत्ति जनाउनुभयो । उहाँले यस विषयमा राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाउनुभयो । मृतकका परिवार र अभियुक्तको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै यस्तो कार्य बन्द गरिनु पर्ने बताउनुभयो ।
अर्का सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) की सांसद श्रद्धा कुँवरले महिला हिंसाका अपराधीलाई कडा सजाय दिने कानुन बनाउनु पर्ने बताउनुभयो । सांसद कुँवरले बलात्कारको मुद्दासम्बन्धी सजाय कडा बनाउनुपर्ने माग राख्नुभयो । साथै समाजमा छोरीलाई लाज छोप्न सिकाएझैँ छोरालाई पनि मानवता सिकाउनु पर्ने उहाँको जिकिर छ ।
त्यसैगरी सदस्य शाहजान खातुनले बालिका तथा महिलामाथि हुने बलात्कार र बलात्कारपछि हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न कानुन परिमार्जन गर्न सरकारसँग माग गर्नुभयो ।
बैठकमा बोल्दै सांसद खातुनले निर्मला पन्तदेखि गरिमा चौधरीसम्मका पीडित परिवार अझै न्यायको प्रतीक्षामा रहेको बताइन्। खातुनले तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धानकै क्रममा रहेका अभियुक्तको बयानसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा पनि उनले गम्भीर प्रश्न उठाउनुभयो ।

