प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजय भोगेको लामोसमयपछि डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीको दोस्रो महाधिवेशनको चाजोपाजोमा जुटेको छ ।
दोश्रो महाधिवेशनको मिति तय भएको जनाउँदै भदौसम्ममा सदस्यता नवीकरणका लागि समेत आह्वान गरिएको छ । सोमबार बसेको सचिवालय बैठकबाट असोजको ९ र १० गते दोश्रो महाधिवेशन गर्ने निर्णय गरेको सचिव अनिताकुमारी मण्डलले जानकारी दिइन् । सो बैठकले भदौ २१ गतेभित्र पार्टीको सम्पूर्ण वडा तथा पालिका अधिवेशनको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ ।
भदौ मसान्तसम्म कायम रहेका सबै सदस्यलाई क्रियाशील सदस्यता कायम गर्ने र सदस्यता नवीकरण भएको अवस्थामा मात्रै महाधिवेशन प्रतिनिधि तथा उम्मेदवार बन्न पाइने निर्णय गरेको छ । सदस्यता नवीकरण नगर्नेलाई उम्मेदवार बन्न नदिने निर्णय गरिएको उनले बताइन् । महाधिवेशनको तयारीबारे थप निर्णय गर्नको लागि भदौ २२ गते सचिवालय बैठक समेत बस्ने उनले बताइन् ।

