२०८३ भाद्र ९, मंगलवार ०८:२१

भारतमा २० प्रतिशत इथानोल मिश्रित पेट्रोल (ई–२०) प्रयोगलाई लिएर सवारीधनीबाट गुनासो र आलोचना बढिरहेका बेला नेपालले भने पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाउने तयारी अघि बढाएको छ ।

भारतको अनुभवका कारण नेपाली उपभोक्तामा पनि इथानोल मिश्रित पेट्रोलले इन्जिन, माइलेज र मर्मत खर्चमा असर पार्ने हो कि भन्ने चासो बढेको छ । तर विज्ञहरूका अनुसार भारतको ई–२० र नेपालमा प्रस्तावित ई–१० लाई एउटै दृष्टिले हेर्न मिल्दैन । इथानोल कृषि तथा जैविक पदार्थबाट उत्पादन हुने जैविक इन्धन हो ।

ऊखुको खुदो -मोलासेस), मकै, कृषि अवशेषलगायत स्रोतबाट उत्पादन हुने इथानोललाई पेट्रोलमा मिसाएर प्रयोग गर्दा पेट्रोलियम पदार्थको आयात घटाउनुका साथै हरितगृह ग्यास उत्सर्जन कम गर्ने र स्वदेशी कृषि तथा उद्योगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिन्छ । ब्राजिल, अमेरिका, थाइल्यान्ड र भारतलगायत देशमा यसको प्रयोग हुँदै आएको छ ।

नेपाल सरकारले पनि यही उद्देश्यसहित पेट्रोलमा इथानोल मिश्रणको नीति अघि बढाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले २१ पुस २०८२ मा ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृत गरेको थियो । २८ फागुन २०८२ मा राजपत्रमा प्रकाशित भएपछि आदेश कार्यान्वयनमा ल्याएको छ । आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताको आधारमा प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाउन सक्नेछ । आवश्यकताअनुसार भविष्यमा मिश्रणको मात्रा परिवर्तन गर्न सकिने व्यवस्था पनि छ ।

भारतमा भने ई–२० लाई लिएर पछिल्लो समय विवाद चुलिएको छ । सन् २०२६ को अप्रिलदेखि ई–२० लाई मानक पेट्रोलका रूपमा लागू गरिएपछि केही सवारीधनीले माइलेज घटेको, इन्जिनको कार्यक्षमता कमजोर भएको र पुराना सवारीसाधनमा समस्या देखिएको गुनासो गरेका छन् । नयाँदिल्लीमा नीतिको विरोधमा प्रदर्शनसमेत भएको छ । यद्यपि भारत सरकार र प्रमुख सवारी उत्पादकहरूले ई–२० व्यापक परीक्षणपछि लागू गरिएको र यसले इन्जिनमा गम्भीर क्षति नगर्ने दाबी गरेका छन् ।

सवारी उत्पादकहरूले भने इथानोलको ऊर्जा क्षमता पेट्रोलको तुलनामा कम भएकाले माइलेजमा केही कमी आउन सक्ने स्वीकार गरेका छन् । मारुति सुजुकीका अधिकारी राहुल भारतीले लाखौँ पुराना सवारीसाधनको परीक्षण गर्दा इथानोलकै कारण ठूलो समस्या देखिएको प्रमाण नभेटिएको जिकिर गरे । कम्पनीहरूका अनुसार माइलेज करिब ३ देखि ३.५ प्रतिशतसम्म घट्न सक्छ, यद्यपि केही स्वतन्त्र विज्ञले वास्तविक प्रभाव फरक हुन सक्ने बताएका छन् ।

भारतमा देखिएको विवादको एउटा प्रमुख कारण ई–२० मा पुग्ने गति पनि छ । ब्राजिलजस्ता देशले लामो समय लगाएर इथानोल मिश्रण क्रमशः बढाएका थिए । भारतले पनि ई–१० हुँदै ई–२० सम्म पुगेको भए पनि सन् २०२३ भन्दा अघि उत्पादन भएका कतिपय सवारीसाधन ई–२० का लागि पूर्ण रूपमा अनुकूल नभएको दाबी गरिएको छ । त्यसैले सवारीको निर्माण वर्ष, इञ्जिन डिजाइन र निर्माताको सिफारिसले इथानोल मिश्रित पेट्रोलको प्रभाव निर्धारण गर्ने देखिन्छ ।

नेपालका पूर्वसहसचिव शिवराम सुवेदीले १० प्रतिशतसम्म इथानोल मिश्रित पेट्रोल अधिकांश पेट्रोल इञ्जिनका लागि सामान्यतया सुरक्षित रहेको दाबी गरे । उनले अन्तर्राष्ट्रिय अध्ययनले पनि ई–१० लाई अधिकांश पेट्रोल इन्जिनमा प्रयोग गर्न सकिने बताए । नेपालले तत्काल ई–२० लागू गर्ने नभएकाले भारतको पछिल्लो विवादलाई जस्ताको तस्तै नेपालसँग तुलना गर्न नमिल्ने उनले बताए । तर नेपालले पनि पर्याप्त सावधानी अपनाउनुपर्ने देखिन्छ ।

नेपालमा इथानोल मिश्रित पेट्रोलले सवारीसाधनमा पार्ने प्रभावबारे आफ्नै व्यवहारिक अध्ययन अझै भएको छैन । त्यसैले अन्तर्राष्ट्रिय अध्ययन र भारतको अनुभवमा मात्र निर्भर नभइ नेपाली सडक, मौसम, सवारीको उमेर र इन्धन प्रणालीलाई ध्यानमा राखेर परीक्षण गर्नु आवश्यक छ । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलमा मिसाउन प्रयोग हुने इथानोलको गुणस्तरसम्बन्धी मापदण्डको मस्यौदा सार्वजनिक टिप्पणीका लागि ल्याएको छ ।

प्रस्तावित मापदण्डअनुसार इथानोल कम्तीमा ९९.५ प्रतिशत शुद्ध हुनुपर्नेछ । यसमा इञ्जिन, रबरका पाइप तथा इन्धन प्रणालीमा क्षति पु¥याउन सक्ने मिथानोल, टर्पेन्टाइन, किटोन्स र टारजस्ता पदार्थलाई डिनेचुरेन्टका रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। इथानोल सुरक्षित, सुक्खा र चुहावट नहुने ट् यांकी वा ड्रममा भण्डारण गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

विभागका प्रवक्ता प्रभातकुमार सिंहले इथानोलको गुणस्तरसम्बन्धी मापदण्ड र पेट्रोलमा कति प्रतिशत इथानोल मिसाउने भन्ने नीति अलग विषय भएको स्पष्ट पारेका छन् । अहिले सार्वजनिक गरिएको मस्यौदा शुद्ध इथानोलको गुणस्तर निर्धारणसँग सम्बन्धित हो । नेपाल आयल निगमले पनि हतारमा मिश्रण सुरु नगर्ने जनाएको छ ।

निगमले इथानोल आपूर्ति नियमित र पर्याप्त भएपछि मात्रै मिश्रण शुरु गरिने जनाएको छ । ई–१० पूर्ण रूपमा लागू गर्न दैनिक करिब २ लाख ३० हजारदेखि २ लाख ५० हजार लिटर इथानोल आवश्यक पर्ने भएकाले निरन्तर आपूर्ति सुनिश्चित गर्नु मुख्य चुनौती हो । इथानोल आपूर्तिका लागि आठ कम्पनीले रुची देखाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News