२०८३ भाद्र १०, बुधबार ०७:२१

बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ सिदरिया टोलबाट हराएकी ११ वर्षीया बालिका वीरगन्जस्थित एक बालगृहमा सकुशल फेला परेकी छन्।

गुलाब्सा खातुनकी छोरी ११ बर्षिया सनाया खातुन गत जेठ १७ गते कसैलाई जानकारी नदिई घरबाट निस्किएपछि परिवारले आफन्त तथा छरछिमेकमा खोजी गरेका थिए। लामो समयसम्म फेला नपरेपछि उनकी आमाले मंगलबार इलाका प्रहरी कार्यालय सिमरामा फोटोसहितको हुलियाको निवेदन दिएकी थिइन्।

निवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय बाराबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा इलाका प्रहरी कार्यालय सिमराको टोलीले बालिकाको खोजी थालेको थियो।

टोलीले बालिकाको घरमा पुगेर उनकी आमा तथा स्थानीय जनप्रतिनिधिसँग भेटघाट गरी आवश्यक सोधपुछ तथा खोजतलास गर्ने क्रममा बालिका वीरगन्जस्थित एक बालगृहमा सुरक्षित रहेको जानकारी प्राप्त भएको थियो।

त्यसपछि प्रमुख जिल्ला अधिकारी मिश्राको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोली तथा बालिकाकी आमा बालगृहमा पुगेर बालिकासँग भेट गरेका थिए। बालिका सकुशल रहेको र आमाको सहमतिमा उक्त बालगृहमा बस्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सनाया यसअघि पनि दुईपटक हराएकी थिइन्। फागुन महिनामा हराउँदा इलाका प्रहरी कार्यालय सिमराले खोजी गरी फेला पारेको थियो भने वैशाखमा पुनः हराएपछि जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरले फेला पारेर उनकी आमालाई जिम्मा लगाएको थियो।

बाराका सुरक्षा निकायले बालिकाको अवस्थाबारे आवश्यक बुझाइ गरी सुरक्षित रहेको पुष्टि गरेको जनाएको छ।

Comment


Related News

Latest News

Trending News