२०८३ भाद्र १०, बुधबार १८:३७

७ लाख ५० हजार घुस लिएको आरोपमा सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरूद्ध मुद्दा दर्ता भएको छ।

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीविरूद्ध मुद्दा दायर भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा उनीहरू विरूद्ध मुद्दा दायर गरेको हो।

बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

उनका अनुसार प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीको आपसी मिलेमतो तथा योजनामा १३ वटा डिप बोरिङ तथा मोटर जडान कार्यका लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समितिहरू देखिएको छ।

तर ती उपभोक्ता समितिहरू कागजमा देखाउनका लागि मात्र गठन गरिएको पाइएको छ।

उपभोक्ता समितिले पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया तथा कागजातहरू उनीहरू आफैले तयार पारी, जल उपभोक्ता समितिको छाप र अध्यक्षको हस्ताक्षर आफैले गरी/गराई भुक्तानी दिएबापत सेवाग्राहीसँग ७ लाख ५० हजार रुपैयाँ घुस बार्गेनिङ गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिएकाले दुवै जनालाई रु. ७,५०,०००/- (सात लाख पचास हजार रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिई मुद्दा दायर गरिएको छ।

Comment

Related News

Latest News

Trending News