चीनको तिब्बतस्थित हिमताल फुट्दा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मधेश प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेश सरकारको २०८३ साल भदौ १० गते बसेको बैठकले बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त निर्णय गरेको छ । विपद्को समयमा राज्यका पदाधिकारी तथा कर्मचारीले समेत आर्थिक सहयोगमार्फत प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउने गरी प्रदेश सरकारले यस्तो निर्णय गरेको छ । सरकारले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरेको छ ।
यसका साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन मधेस प्रदेश सरकारले प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार क्षेत्रलाई समेत सहयोगका लागि अपिलसमेत गरेको छ ।
विपद्को समयमा मधेश प्रदेश सरकारका पदाधिकारी र कर्मचारीको एक दिनको तलब सहयोग गर्ने निर्णयले प्रभावित नागरिकको उद्धार तथा राहतमा थप केही सहयोग पुग्ने अर्थमन्त्री युवराज भट्टराईले बताए । भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति मधेश प्रदेश सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
प्रदेश सरकारले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । यसका साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना र बेपत्ताहरुको खोजी कार्यका लागि समेत उनले आग्रह गरे ।

