नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न सरकारलाई आग्रह गर्नुभएको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो बारे पार्टीको स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै ओलीले रसुवा बाढीपछि सरकार एक्लै अघि बढ्न खोजेको भन्दै आपत्ति जनाउदै विपद् व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न आग्रह गर्नुभएको हो ।
उहाले यसलाई राष्ट्रिय विपत्तिको रूपमा बुझेर तीनै तहका सरकार र सरोकारवालासँग समन्वय गरी प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिनुभयो । उहाले विपद्लाई राजनीतिक विषय नबनाई साझा राष्ट्रिय समस्याका रूपमा लिएर सबै दल र सरकार मिलेर संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
विपद्मा जस लिने होडबाजी नगरी साझा समाधान खोज्न सबै राजनीतिक दलहरू सरकारलाई सहयोग गर्न तयार रहेको उहाको भनाइ छ ।
उहाले खोज तथा उद्धार कार्यमा ‘नेपाल माउन्टेनियरिङ एसोसिएसन’ जस्ता हिमाली उद्धारमा दक्षता हासिल गरेका दक्ष संस्थाहरूको सहयोग सरकारले नलिएको उल्लेख गर्नुभयो ।
उद्धारका लागि हेलिकप्टर भाडामा लिन र प्रयोग गर्न समेत आवश्यक समन्वय तथा अनुमति नदिइएकोप्रति उहाले आपत्ति जनाउनुभयो ।

