चीनको तिब्बतस्थित हिमताल फुट्दा रसुवाको भोटेकोशीमा आएको विध्वंशकारी बाढीमा परेर मधेश प्रदेशका विभिन्न जिल्लाका १९२ जना अझैसम्म पनि सम्पर्कविहीन नै छन् भने ३० जना परिवारको सम्पर्कमा आएका छन् । जसमध्ये १६२ जनाको अवस्था अज्ञात रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रभ प्रसाद ढकालले जनाए अनुसार बाढीपछि आफन्तले दिएको खोजतलास निवेदनका आधारमा संकलित विवरणअनुसार सप्तरीका ४९ जना सम्पर्कविहीन भएका थिए । जसमध्ये एक जना परिवारको सम्पर्कमा आए पनि ४८ जनाको अवस्था अझै अज्ञात छ । सिरहाबाट बेपत्ता भएका १० जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने ८ जना अझै सम्पर्कविहीन छन् । धनुषाका १३ जनामध्ये ७ जना परिवारको सम्पर्कमा आएका छन् भने ६ जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । त्यस्तै, महोत्तरीका १७ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् भने १० जना अझै बेपत्ता छन् । सर्लाहीबाट बेपत्ता भएका १९ जनामध्ये तीन जना सम्पर्कमा आए पनि १६ जनाको अवस्था अज्ञात छ । रौतहटबाट हराएका १९ जनामध्ये तीन जना सम्पर्कमा आएका छन् भने १६ जना अझै बेपत्ता छन् । बाराका २५ जनामध्ये दुई जना सम्पर्कमा आए पनि २३ जनाको अवस्था सम्पर्कविहीन नै रहेको छ । पर्साबाट सम्पर्कविहीन भएका ४० जनामध्ये दुई जना परिवारको सम्पर्कमा आएका छन् भने ३८ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
यसैगरी, नेपाल प्रहरीमा कार्यरत मधेशका नौ जनामध्ये छ जना सम्पर्कमा आएका छन् भने तीन जना अझै सम्पर्कविहीन छन् । नेपाली सेनामा कार्यरत तीन जनामध्ये एक जना सम्पर्कमा आए पनि दुई जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनमध्ये अधिकांश जलविद्युत् आयोजनामा कार्यरत रहेको र बाढीका कारण उनीहरू आयोजनाका सुरुङ तथा अन्य संरचनाभित्र फसेको हुनसक्ने आशंका परिवारजनले गरेका छन् ।
रसुवा, धादिङ र नुवाकोटलगायतका क्षेत्रमा रोजगारी, व्यापार तथा व्यवसायका लागि पुगेका मधेसका नागरिक बाढीपछि सम्पर्कमा नआएपछि परिवारजन चिन्तित बनेका छन् । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । प्रहरीले पनि आफ्ना आफन्त हराएको वा सम्पर्कविहीन भएको भए नजिकको प्रहरी युनिट, इलाका प्रहरी कार्यालय वा प्रहरी चौकीमा आवश्यक विवरणसहित निवेदन दिन आग्रह गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि रसुवा, धादिङ, नुवाकोटलगायत बाढी प्रभावित जिल्लाका प्रहरी कार्यालयसँग समन्वय गरी काम भइरहेको जनाएको छ । सो बाढीका कारण फसकेकाहरुको यकिन अवस्था पत्ता लगाउन खोजी तथा पहिचान कार्यको कामलाई तीव्रता दिनका लागि परिवारजनहरुले माग गरेका छन् ।

