रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजी कार्यमा कोही मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।
बाढीपछि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएपछि सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो। उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर सम्भावित क्षेत्रमा खोजी गरेको थियो।
टोलीले सुरुङभित्र ड्रोनसमेत उडाएर अवस्थाबारे निरीक्षण गरेको थियो। तर, खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानवीय उपस्थिति फेला नपरेको बताइएको छ।
सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर खोजी गर्दा समेत कोही व्यक्ति नभेटिएपछि त्यहाँ मानिस फसेको आशंका हटेको छ। खोजी कार्य सम्पन्न भएपछि नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ।

