२०८३ भाद्र १६, मंगलवार ०७:३५

चीनको तिब्बतस्थित हिमताल फुटेपछि गएको विनाशकारी बाढीका कारण सयौँजना घरबारविहीन भएका छन् भने हजारभन्दा बढीका परिवारजनसमेत सम्पर्कविहीन अवस्थामा अझैसम्म पनि छन् । सोही क्रममा धनुषाकी पूजा साहसमेत आफ्ना श्रीमान् अजय सिंहका लागि दिनानुदिन सम्पर्क गराइदिनका लागि अनुनयविनय गरिरहेकी छन् । उनी दिनहुँ श्रीमान् अजय सिंहको प्रतीक्षामा मोबाइल हातमा लिएर बस्ने गरेकी छन् । उनको आँखामा निद्रा छैन ।

मोबाइलको स्क्रिनमा पटक–पटक श्रीमान्को नम्बर हेर्छिन्, फोन गर्छिन् । तर, घण्टी बज्दैन । प्रत्येक असफल प्रयाससँगै उनको मनमा आशंका बढे तापनि आँसु झार्दै आश अझै जिवितै राखेकी छन् । उहाँ जसलाई भेटे पनि ‘मेरो बुढा कस्तो अवस्थामा हुनुहुन्छ ? त्यहाँ के भइरहेको छ ? केही जानकारी पाएको छैन’, रुदै पूजा भन्छिन्, ‘प्लीज, जसरी भए पनि उहाँको अवस्थाबारे जानकारी पाउँ । मलाई उहाँसँग कुराकानी गराइदिनुस् ।’ रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत धनुषाको कमला नगरपालिका–६ सखुवा मडानको अजय बाढी आउनुअघिसम्म नियमित रूपमा परिवारको सम्पर्कमा थिए । परिवारसँग कुराकानी गर्ने, आफ्नो अवस्थाबारे जानकारी दिने र घरपरिवारको हालखबर सोध्ने उनको दैनिकी थियो । तर, रसुवामा बाढी आएपछि उनी एक्कासी सम्पर्कविहीन भएका छन् ।

अजयको सम्पर्कविहीनताको खबरपछि उनको घरमा सन्नाटा छाएको छ । सामान्य दिनचर्या पनि अस्तव्यस्त भएको छ । घरमा परिवारका सदस्यबीच कुराकानी भए पनि सबैको ध्यान मोबाइलमै हुन्छ । अपरिचित नम्बरबाट फोन आउँदा केही खबर आयो कि भन्ने आशा जाग्छ । तर, धेरैपटक ती फोन अपेक्षाविपरीत हुन्छन् । त्यसपछि फेरि शुरु हुन्छ प्रतीक्षा । पूजाको जस्तै अवस्था अहिले रसुवाको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका परिवारको छ । कसैका श्रीमान् सम्पर्कविहीन छन्, कसैका दाइ–भाइ त कसैका छोरा छोर ीसमेत । रोजगारीका लागि घरदेखि टाढा पुगेका आफन्त विपद्पछि सम्पर्कविहीन हुँदा परिवारका सदस्यहरू अनिश्चितताको पीडामा छन् । रसुवामा जलविद्युत् आयोजनालगायत विभिन्न क्षेत्रमा काम गर्ने धेरै व्यक्ति बाढी र पहिरोपछि सम्पर्कविहीन भएका छन् । आफन्तहरू उनीहरूको अवस्थाबारे जानकारी लिन प्रहरी, प्रशासन, अस्पताल तथा उद्धारमा खटिएका निकायसम्म पुगिरहेका छन् ।

कतै आफ्नो मान्छेको नाम भेटिन्छ कि, कतै फोटो देखिन्छ कि वा कसैले ‘उहाँ सुरक्षित हुनुहुन्छ’ भनेर खबर गरिदिन्छ कि भन्ने आशामा उनीहरू दिनरात भौँतारिरहेका छन् । बाढीले सडक, पुल, घर र बस्तीमा क्षति पु¥याएको छ तर त्यसको असर भौतिक संरचनामा मात्र सीमित छैन । विपद्ले धेरै परिवारको शान्ति, खुसी र नियमित जीवनसमेत खोसेको छ । कसैले आफन्त गुमाएको पीडा भोगिरहेका छन् भने कतिपय परिवार अझै ‘सम्पर्कविहीन’ भन्ने शब्दको अनिश्चिततामा अड्किएका छन् ।

पूजाको प्रतीक्षा पनि त्यही अनिश्चिततासँग जोडिएको छ । हातमा मोबाइल, आँखामा आँसु र मनमा श्रीमान्को सम्झना बोकेर उहाँ हरेक क्षण अजयको खबर पर्खिरहेकी छन् । ‘उहाँ जहाँ हुनुहुन्छ, सुरक्षित हुनुहोस्’, उनी भन्छिन् । अजयको खोजी र उनको अवस्थाबारे यकिन गर्ने प्रयास जारी छ । तर धनुषामा पूजा भने अझै श्रीमान् फर्किने आशामा छिन् । उनको लागि अहिले समय रोकिएजस्तै भएको छ । उनले सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन, विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई धन्यवाद दिँदै सम्पर्कविहीन अवस्थामा रहेका सबै नागरिकको खोजी र उद्धारलाई प्राथमिकतामा राखिदिनुहुन पनि अनुरोध गरेकी छन् ।

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढी तथा पहिरोपछि मधेश प्रदेशका आठ जिल्लाका १६२ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढीपहिरोपछि सम्पर्कविहीन भएका १७४ जनामध्ये २३ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सम्पर्कविहीन हुनेको संख्या सबैभन्दा बढी सप्तरीमा ४७ जना रहेको छ । सप्तरीमा बाढीपहिरोपछि ४८ जना सम्पर्कविहीन भएकामा एक जना सम्पर्कमा आएका छन् । त्यस्तै, पर्सामा प्रारम्भिक रूपमा ३९ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएपछि ३६ जना अझै सम्पर्कविहीन छन् ।

बारामा २३ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएका छन् भने २० जना अझै सम्पर्कबाहिर छन् । रौतहटमा बाढीपहिरोपछि १७ जना सम्पर्कविहीन भएकामा छ जना सम्पर्कमा आएका छन् । रौतहटमा ११ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । सर्लाहीमा १५ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएपछि १२ जना सम्पर्कविहीन छन् । महोत्तरीमा प्रारम्भिक रूपमा १७ जना सम्पर्कविहीन भएकामा दुई जना सम्पर्कमा आएका छन् । जिल्लामा १५ जना अझै सम्पर्कविहीन रहेको छ । धनुषामा पाँच जना सम्पर्कविहीन भएकामा चार जना सम्पर्कमा आएपछि एक जना अझै सम्पर्कविहीन छन् । त्यसैगरी, सिरहामा १० जना सम्पर्कविहीन भएकामा एक जना सम्पर्कमा आएका छन् भने नौ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीपहिरोपछि मधेश प्रदेशका आठ जिल्लाबाट सम्पर्कविहीन भएको प्रारम्भिक विवरण १७४ जनाको थियो । शनिबार बिहानसम्म २३ जना सम्पर्कमा आइसकेका छन् ।

Comment


Related News