२०८३ भाद्र १६, मंगलवार ००:४७

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नै पार्टीका तत्कालीन कोषाध्यक्ष सुरेन्द्रनारायण यादवविरुद्ध दायर गरेको ठगी तथा रकम हिनामिनासम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतले फैसला गरेको छ । सोमबार अदालतले तत्कालीन कोषाध्यक्ष यादवलाई आरोप पुष्टि हुन नसकेको भन्दै निर्दोष ठहर गरेको छ । ललितपुर जिल्ला अदालतले मुद्दामा प्रस्तुत प्रमाण, प्रतिवादीको बयान तथा विभिन्न कागजातहरूको अध्ययनपछि यादवमाथि लगाइएको आरोप दाबी पुग्न नसकेको निष्कर्ष निकालेको छ ।

जिल्ला अदालतको फैसलामा भनिएको छ, ‘यस अदालतमा विचाराधीन मुद्दामा प्रस्तुत प्रमाण, बयान तथा कागजातहरू समेतको आधारमा प्रतिवादी सुरेन्द्रनारायण यादवमाथि लागेको आरोप दाबी पुग्न नसकेको हुँदा निजलाई निर्दोष ठहर गरिएको छ ।’ जनमत पार्टीका तत्कालीन कोषाध्यक्ष यादवमाथि पार्टीको रकम हिनामिना गरेको आरोप लागेको थियो। उनीमाथि पार्टीका नाममा उठाइएको चन्दा तथा लेबीको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लगाइएको थियो ।

विशेषगरी विदेशमा रहेका पार्टीका कार्यकर्ताबाट उठाइएको लेबी तथा चन्दाको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको र सोही रकमबाट काठमाण्डुमा घर खरिद गर्नुका साथै जनकपुरधाममा व्यवसाय सञ्चालन गरेको आरोप उनीमाथि लगाइएको थियो । अध्यक्ष डा. राउतले यादवमाथि करोडौँ रुपैयाँ बराबरको रकम हिनामिना गरेको आरोप लगाउँदै पार्टीभित्र समेत अनुशासनात्मक कारबाही गरेका थिए । यादवविरुद्ध पार्टीको रकम हिनामिना तथा ठगीसम्बन्धी आरोपमा प्रहरीमा समेत उजुरी परेको थियो ।

अध्यक्ष डा. राउतले दिएको मुद्दामा यादवले विदेशमा रहेका पार्टी कार्यकर्ताबाट चन्दा तथा लेबीका रूपमा संकलन भएको रकमको दुरुपयोग गरेको दाबी गरिएको थियो । सो रकमबाट व्यक्तिगत सम्पत्ति जोडेको तथा व्यवसायमा लगानी गरेको आरोपसमेत लगाइएको थियो ।

Comment


Related News

Latest News

Trending News