रसुवाको भोटेकोशी, टिमोर, र त्रिशुलीपछि अब मधेश प्रदेशका कोशी नदी र रातो नदीमा पानीको बहाव उच्च भएको छ । ती नदीमा बहाव उच्चले जोखिम बढेको छ ।
सोमबार दिउँसो २ः२० बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार २ सय ९५ क्युसेक पुगेको छ । पानीको बहाव पछिल्लो मापनको तुलनामा घट्दो क्रममा रहे पनि ब्यारेजमा अझै खतरा तह कायम रहेको जनाइएको छ । उच्च बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका २० वटा ढोका खोलिएका छन् । नदीमा पानीको सतह र बहाव उच्च रहेकाले ब्यारेज तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
पानीको बहाव घट्दै गए पनि जोखिम पूर्ण रूपमा टरिनसकेको भन्दै सम्बन्धित निकायले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सावधानी अपनाउन आग्रह गरेका छन् । यता महोत्तरीको बर्दिबास नगरपालिका र महोत्तरी गाउँपालिका क्षेत्रबाट बग्ने रातो नदीमा समेत पानी बहाव उच्च भएपछि जोखिम बढेको सरोकारवाला निकायको भनाई छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनका अनुसार रातु खोला आसपासको क्षेत्रमा पानीको बहाव बढ्न सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा टोलीलाई सतर्क अवस्थामा परिचालन गरिएको छ । रातु नदी प्रणालीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव र आसपासको अवस्थाबारे निरन्तर जानकारी राख्न तथा जोखिम बढेमा सुरक्षित स्थानतर्फ जान प्रशासनले अनुरोध गरेको छ ।
सम्भावित बाढी तथा डुबानबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि सुरक्षा निकाय र सम्बन्धित निकायहरूलाई समेत आवश्यक तयारी अवस्थामा रहन भनिएको प्रशासनले जनाएको छ । प्रशासनले नदी किनार तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमलाई बेवास्ता नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।

